Logo

नेकपामा महासचिव पौडेलको निर्णायक भूमिका, अर्थमन्त्रीको रुपमा झनै ‘बोल्ड’



काठमाडौं, २ पुष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केही दिनलाई मत्थर भएको छ । तर, विवाद कायमै छ । हिजो बसेको स्थायी कमिटी बैठकले फुटको संघारमा पुगेको नेकपालाई जोगाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो स्थायी कमिटी बैठक बस्नुअघि लगातार तीन पटकसम्म वार्ता भएको थियो । अध्यक्षद्धय ओली र दाहाल महासचिव विष्णु प्रसाद पौडेलको आग्रहमा नै वार्तामा बस्न राजी भएका थिए । नेकपाको विवाद सुरु भएको दिनदेखि नै महासचिव पौडेल विवाद हल गर्नको लागि सक्रिय भएर लागेका छन् । उनले यो अवधिमा पार्टीका प्रायः सबै शीर्ष नेताहरुसँग पटक पटक भेटवार्ता गरेर सहमतिको लागि अधिकतम प्रयास गरेका छन् । कहिले अध्यक्ष ओलीको सन्देश बोकेर अर्का अध्यक्ष दाहाल निवासमा, कहिले वरिष्ठ नेता माधव कुमार नेपालकहाँ, त कहिले उपाध्यक्ष वामदेव गौतमको निवासमा नेता पौडेल धाईरहे । पार्टीभित्रको विवाद हल गर्ने सम्बन्धमा गत भदौ २६ गतेको सहमति होस वा मंसिर ४ गतेको सहमति नै किन नहोस, यी सबै सहमतिको खाका भने नेता पौडेललै तयार पारेका हुन् । नेता पौडेल समस्याको सही पहिचान र समाधानको लागि माहिर मानिन्छन् । उनी सबै पक्षसँग छलफल, बहस र समन्वयपश्चात् नै बोल्ड निर्णय लिन्छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी गठबन्धन गर्नेदेखि लिएर पार्टी एकतासम्म आईपुग्दा पौडेलको भूमिका अहम र महत्वपूर्ण थियो र रहँदै आएको छ । उनी अध्यक्ष तथा प्रधानमन्त्री ओलीकोमात्रै प्रिय नभएर नेकपाका प्रायः सबै नेताहरुले उनलाई रुचाएका छन् । नेकपा विवाद सुरु भएर विभाजनको मुखमा पुग्ने दाबी गरिरहेको बेलामा पौडेल भने सुरुवातदेखि नै पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गर्दै आएका छन् । यसको लागि उनले आफ्नो व्यक्तिगत तर्फबाटसमेत सक्रिय पहलकदमी लिएका छन् । नेकपामा अध्यक्षद्धय ओली र दाहालले पौडेललाई उत्तिकै रुचाएका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा अर्थमन्त्रीमा उनको नियुक्ती हुँदा कोही कतैबाट पनि विरोध नहुनुलाई लिन सकिन्छ । नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग मन्त्री पौडेलबारे भने,‘उहाँ (अर्थमन्त्रीजी) दुवै अध्यक्षले रुचाउने नेता हो, उहाँले आफूलाई त्यहीअनुसार आफ्नो भूमिकामा समेत खरो उतार्नुभएको छ । उहाँ सबैलाई मिलाएर लैजान माहिर हुनुहुन्छ । सबैको मन जितेर नै उहाँले काम गर्नुभएको छ । सायद, यही भूमिकाबाट दुवै अध्यक्ष उहाँसँग प्रभावित हुनुहुन्छ ।’

अध्यक्षद्धय ओली र दाहालको लागि मात्रै नभएर पौडेल वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालको लागि उत्तिकै प्यारो मानिन्छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेता पौडेलले व्यक्तिगत रुपमा घरघरमै पुगेर सघन छलफल तथा वार्ता गरेर सहमतिको लागि गरेको प्रयास प्रशंसनीय छ । पार्टीभित्र आईपर्ने सबैखाले अप्ठ्यारोलाई छिचोल्न पौडेल माहिर छन् । त्यसैले अप्ठ्यारो पर्दा नेताहरुले पनि उनलाई खोज्ने गरेका छन् । नेपाली राजनीतिमा पौडेल २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनपछि नै निर्णायक भएका हुन् । संविधानसभाबाट संविधान ल्याउनपनि उनको महत्वपूर्ण भूमिका रह्यो । तत्कालिन नेकपा एमालेमा माधव नेपाल महासचिव हुँदापनि उनको नेपालसँग् राम्रो सम्बन्ध थियो । पछि ओली अध्यक्ष भएपछि पनि राम्रो सम्बन्ध रह्यो र आजसम्मपनि त्यो दोस्ती कायम छ ।

अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउनको लागि सबैभन्दा बढि भूमिका यदि कसैले खेलेको छ भने त्यो नेता पौडेलले नै हो । उनले जनार्दन शर्मासँग बसेर निकै लामो गृहकार्य गरेका छन् । पार्टीका विधान, दस्तावेज र सहमतिको खाका तयार पार्न उनी अहोरात्र खटे । उनको क्षमता, योगदान र भूमिकालाई मध्येनजर गर्दै अध्यक्षद्धय ओली र दाहालले उनलाई महासचिवको रुपमा अघि सारे । पदीय जिम्मेवारीमा उनी कहीँकतै अहिलेसम्म चुकेका छैनन् । पार्टी कमिटीका बैठकहरु बोालउनको लागि पनि सबै नेताहरुसँग समन्वय गर्दै आएका छन् । उनी ओली पक्षधर नेताको रुपमा चिनिएपनि भूमिका भने मध्यमार्गी छ । यो वा त्यो व्यक्ति नभनी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरकै कारण उनको पार्टीभित्र अलिहेपनि प्रशंसा भएको छ ।

पार्टी जिम्मेवारीमा मात्रै नभएर उनले सरकारमा रहँदापनि स्वच्छ छविका साथ काम गरेका छन् । वर्तमान प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पौडेल नै अर्थमन्त्रीको रुपमा थिए । त्यतिवेला पनि उनले जनहितका निर्णय लिएका थिए । उनको चौतर्फी वाहवाही भएको थियो । बिग्रिएको अर्थतन्त्रलाई सही दिशामा ल्याउन सफल भएको कारण उनलाई पहिलोपटक अर्थमन्त्री हुँदा धेरैले रुचाएका थिए ।  यसपटक पनि उनी अर्थमन्त्रीको रुपमा आएका छन् । मन्त्रालयको नेतृत्व सम्हालेको सुरुवातमै उनले राम्रा राम्रा निर्णय लिएका छन् । मन्त्री पौडेलले मंसिर १५ गते प्रत्येक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल शिलान्यास गरे । जुन कामको अहिलेपनि प्रशंसा भैरहेको छ । त्यस्तै, आगामी असार मसान्तभित्र गरिब परिचयपत्र वित्तरण गर्ने पनि उनको अर्को बोल्ड निर्णय छ । र, सात दिनभित्र कोरोना बीमा दाबी भुक्तानी, पुस्तकमा लागेको कर हटाउने र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा जम्मा गर्ने जस्ता निर्णय गरेर उनले सुरुमै वाहवाही कमाएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्