काठमाडौं, पुस ३ । कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि गत काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।
शुक्रवारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रूपमा गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
पछिल्लो समय सरकारी तथा निजी कार्यालयहरू पूर्णरूपमा खुल्दै गएको र जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्दा भीड बढ्दै गएकाले यातायात व्यवसायीहरूले यो प्रणाली हटाउन माग गरेका थिए ।
अन्य क्षेत्र खोल्दा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा सरकाको आलोचनासमेत भइरहेको थियो । यातायात व्यवसायीले समेत जोर विजोरको नियम नमान्ने सरकारलाई दबाव दिन थालेका थिए । सर्वसाधारणले समेत सार्वजनिक गाडीमा भिडभाड भएको भन्दै जोर विजोरको नियम खारिज गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।