Logo

आमाको किरिया गर्दै छोरी



चितवन, ३ पुस: समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा छिन् । सोह्र वर्षअघि पनि उनले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिएकि थिइन् । त्यसयता धेरै छोरीले बाबुआमाको किरिया गर्ने गरेका छन् ।

छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसँगै आमाको किरिया बसेकी हुन् । गत मङ्सिर २३ गते ८६ वर्षको उमेरमा आमा झगडी खरेल (पार्वती) को मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसँगै कोरामा बसेकी हुन् ।

समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यताअनुसार आफू किरिया बसेको उनले बताईन् । उनले भनिन, “बाबुआमाप्रति छोराछोरी दुवैको बराबर अधिकार र जिम्मेवारी रहन्छ ।”

मीनाले आमाको शवको अन्तिम संस्कार गरीन्, चितामा दागबत्ती दिईन् र सेतो कपडा लगाएर कोरामा बसेकी छिन् । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले नदिए पनि मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्यु संस्कार गरीन् । त्यसपछि हिन्दूसंस्कारअनुसार बाबुको श्राद्ध मीना आफैँले गर्दै आएकी छिन् । पचपन्न वर्षीया अविवाहित मीनालाई यसपालि भने किरियामा बस्न परिवारले रोकेन ।

पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजकिरिया गर्नु सकारात्मक पक्ष हो” अधिवक्ता फुलमाया रानाभाटले भनिन, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।” भरतपुर महानगरपालिका–४ लकु घर भएकी स्व पार्वती खरेलका नौ छोरी र तीन छोरा छन् । स्व खरेल आफैँ पनि सामाजिक अभियानमा तल्लीन थिइन् ।-रासस



प्रतिक्रिया दिनुहोस्