Logo

टीकापुर घटनाको ‘रचनाकार’ भन्दै रेशम र लक्ष्मणलाई जन्मकैद सजाय सुनाउनुमा अदालतले दियो आधार



काठमाडौं, ३ पौष । टीकापुर घटनामा थरुहट आन्दोलनका नेतामध्येका रेशम चौधरी र लक्ष्मण थारुले जन्मकैदको सजाय पाएका छन् । उच्च अदालत सुर्खेतले हिजो यस्तो फैसला गरेको हो । न्यायाधीशहरु टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले फैसला गरेको हो ।

सरकारवादी मुद्दामा रेशम र लक्ष्मण दुवैमाथि ज्यान र डाँकाचोरीको समेत अभियोगमा मुद्दा दर्ता थियो । तर, डाँकाचोरी अभियोग पुष्टि नभएपछि अदालतले सफाई दिएको छ ।

उच्च अदालतले गरेको फैसलाको आधार समेत संक्षिप्त विवरण उल्लेख छ । जसमा घटना योजनावद्ध रुपमा घटाइएको, केही व्यक्ति घटनाको रचनाकार रहेको देखिएको, सुरक्षाकर्मीलाई हत्या गर्ने टार्गेट गरी घटना घटाइएको, कल डिटेल्सले नेतृत्वकर्ता घटनास्थल वरीपरी नै रहेको देखाएको, सुरक्षाकर्मीलाई सी आकारको घेरा हाली नियन्त्रणमा लिएको, सुरक्षाकर्मीलाई भागी लुकी बस्दा समेत आक्रमण गरी घिसार्दै बाहिर ल्याई विभत्स तरिकाले हत्या गरेको, २ वर्षको नाबालकको समेत मृत्यु भएको, राजनीतिक रङ्ग दिन खोजिएपनि गम्भिर फौजदारी अपराध देखिन आएको र एउटा क्रुर, निर्मम र अमानवीय हिंसाको रुपमा देखिई मानवता विरोधी अपराधको रुपमा लिन सकिने घटना देखिएको पूर्ण पाठमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्