Logo

नेकपा र कांग्रेसका नेताहरुबीचको साँठगाँठ अनौठो



पुष ४, काठमाण्डौ । यतिबेला सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको अनौठो साँठगाँठ देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा नजिक देखिन्छन् भने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्बन्ध बढाएको जस्तो देखिन्छ ।

सत्तारुढ दल नेकपाको विवादले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि आकर्षित गरेको हो । आफ्नो पार्टीभित्र विवाद चुलिएका बेला वा प्रधानमन्त्री पद नै धरापमा परेको महसुश हुँदा केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने गरेका छन् । ओली र देउवाबीचको भेटलाई संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्नका लागि भनेर प्रचार गर्ने गरिएको छ ।

तर भेटमा ओलीले देउवालाई यदी पार्टीभित्रको विवाद चर्किएर पद नै धरापमा पर्यो भने साथ दिन आग्रह गर्ने गरेको बुझिन्छ । गत मंसिर ६ गते संवैधानिक परिषद्को बैठक र संवैधानिक निकायमा नियुक्तिको विषयमा छलफल गर्न भन्दै बैठक बोलाएर देउवालाई ओलीले सत्तासमीकरणको प्रस्ताव गरेका थिए । भेटको विषय सार्वजनिक नभएको भन्दै पौडेल समूहले त्यसको विरोधसमेत गरेको थियो ।

संवैधानिक परिषद्को बैठकका सम्बन्धमा भन्दै प्रधानमन्त्री ओली र देउवाबीच पटक–पटक भेटघाट भइसकेको छ । दाहाल नेपाल पक्षले राजीनामा मागेका वेला ओलीले गत १७ असारमा पनि देउवासँग गोप्य भेट गरेका थिए । नेकपाका केही नेताहरुले त संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा पनि ओली र देउवाबीच सहमति भएको दावी गर्ने गरेका छन् ।

ओली र देउवाबीच एक किसिमको साँठगाँठ भइरहेका बेला शुक्रबार नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । देउवाको भूमिकालाई लिएर नेकपा अध्यक्ष र वरिष्ठ नेता नेपाल सशंकित भएकै वेला शुक्रबार पौडेलसँग संवाद भएको हो ।

भेटमा ओली र देउवाबीच जुनसुकै बेला विवादित सहमति हुन सक्ने भन्दै दाहाल र नेपालले पौडेललाई सचेत गराएको बुझिएको छ । ओली सरकार धरापमा परेको खण्डमा कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छन् ।

तर, हाल प्रतिनिधिसभामा सभामुखसहित दुई सय ६९ जना सांसद कायम छन् । बहुमतका लागि एक सय ३५ सांसद चाहिन्छ । यो अंकगणित हेर्दा ६१ जना सांसद भएको कांग्रेससँग मिलेर सरकार बनाउन नेकपाका कुनै पनि समूहलाई ७४ सांसदको खाँचो हुन्छ । कांग्रेसले साथ दिएको खण्डमा नेकपाको जुनसुकै समुहको आधार बलियो बन्ने देखिन्छ ।

जसपाको प्रवेश :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका थिए । भेटवार्ताले दुई दलबीच दुई वटा विषयमा सहमति भएको छ ।

तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो । सरकारका असंवैधानिक र अलोकतान्त्रिक गतिविधि, भ्रष्टाचार, कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारीका विषयमा पनि छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्