Logo

सिन्धुपाल्चोकका विपद् प्रभावितलाई राहत सामग्री



काठमाडौँ, ५ पुस: सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित चार स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री उनले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौतारा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सभामुख सापकोटाले प्राप्त सबै सामग्रीको सहि तरिकाले वितरण गर्न स्थानीय तहलाई आग्रह गरे । सामग्रीमा दुई सय ४० न्यानो कटन टेन्ट, तीन सय ब्ल्याङ्केट र तीन सय उच्च क्षमताको टर्च लाइट रहेका छन् । यस वर्षको बाढी पहिरोका कारण स्थानीय तहले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएका हुन् ।

बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० टेन्ट, ९५ ब्ल्याङ्केट, ९५ टर्च लाइट, जुगल गाउँपालिकालाई ७० टेन्ट, ८० ब्ल्याङ्केट र ८० टर्च लाइट, भोटेकोशी गाउँपालिकालाई ५५ टेन्ट, ७० ब्ल्याङ्केट र ७० टर्च लाइट ,चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ टेन्ट, ५५ ब्ल्याङ्केट र ५५ थान टर्च लाइट प्रदान गरिएको छ ।
नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले विपद संकटग्रस्त घोषणा पछिका कार्यक्रम लागू गर्न माग गरे । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जिल्लामा जोखिमयुक्त बस्तिको सङ्ख्या ३५० भन्दा धेरै रहेको अध्ययनले देखाएको बताए ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सभामुखले जिल्लाका विपदग्रस्त क्षेत्रका लागि आमाको जस्तै भूमिका निर्वाह गरेको अनुभति भएको सुनाए भने भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले राहत सामग्रीको पहल र हस्तान्तरणका लागि सभामुखप्रति आभार प्रकट गरे ।

यस वर्षको बर्षातमा जिल्लाको क्षेत्र नं १ मा पर्ने बाह्रविसे नगरपालिकाको जम्बु र खागदलमा, भोटेकोशी गाउँपालिकाको फुल्पिङ्ग लगायतका विभिन्न स्थान, जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको थियो । यसपछि सभामुख सापकोटाले सहयोगका लागि आह्वान गरेका थिए । सोही आह्वानपछि चीन सरकारको नेलम काउन्टीले राहत सामग्री उपलब्ध गराएको हो ।

सबै सामग्रीको स्थानीय तहको आग्रहमा भन्सार विभागले कर तथा महशुल छुुट गरेको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । उनका अनुसार चीनले ८ लाख ५८ हजार युआन बराबरको राहत सामग्री प्रदान गरेको हो ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्