काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको गृहमन्त्री बामदेव गौतमलाई बनाउने तयारी गरेका छन् । उनले त्यसका लागि गौतमलाई केही दिन अघि नै संकेत गरिसकेको बुझिएको छ ।
गौतमले प्रधानमन्त्री ओलीले संसद बिघटन गर्न लागेको जानकारी समेत पाइसकेका थिए । उनी शनिबार ओली र प्रचण्डबीच सहमतिका लागि अन्तिम प्रयासमा समेत थिए । कुरा नमिलेपछि उनी कुनैपनि गुटमा छैन भनी उठेका थिए ।
गौतमले प्रधानमन्त्री ओलीको कदमलाई पनि घुमाउरो ढंगले समर्थन गरेका छन् । उनले समर्थन र विरोध केही नभएको भन्दै पर्ख र हेरमा रहेको सन्देश सचिवालयका विश्वमणि सुवेदीमार्फत् दिएका छन् । गौतमलाई भविष्यमा प्रधानमन्त्री बनाउने आश्वासन पनि ओलीले दिइसकेका छन् । यसअघि प्रतिनिधिसभाको चुनाव हारेकाले पनि गौतम यसको बिघटनप्रति दुःखित देखिएका छैनन् ।
दुईपटक गृहमन्त्री भएका र एकपटक गृहमन्त्री हुँदा स्थानीय निकायका चुनावमा तत्कालिन नेकपा एमालेलाई ठुलो सफलता दिलाएका गौतमलाई ओलीले फेरि साथमा लिएका छन् । उनलाई सरकारमा ल्याएर ओलीले आफ्नो प्रभाव अझ बलियो बनाउन खोजेको बुझिएको छ ।