काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट निर्णय गराएर प्रतिनिधिसभा बिघटनको सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बिघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गर्न लागेको जानकारी दिएका हुन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले संसद बिघटन गर्नुलाई संसद मात्र नभई संविधानकै हत्याको संज्ञा दिए । उनले भने,‘संसद र संविधानको हत्यामा प्रधानमन्त्री ओली मुख्य पात्र हुनुभयो र राष्ट्रपति विद्यादेवी भण्डारी पनि त्यसको मतियार हुनुभयो ।’ उनले राष्ट्रपति र प्रधानमन्त्री दुवैजना इतिहासकै कलंकित पात्र भएको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट लिएर जान लागेको बताए ।