Logo

योगेश र घनश्यामसहित सात मन्त्रीले दिए राजीनामा



काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सरकारका सातजना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा पूर्व एमालेका दुई, पूर्व माओवादीका चार र एकजना मधेश केन्द्रित दलबाट नेकपा प्रवेश गरेका हुन् ।

पूर्व एमालेबाट कृषिमन्त्री घनश्याम भुषाल र पर्यटनमन्त्री योगेश भट्टराईले राजीनामा दिएका हुन् । दुवै प्रधानमन्त्री ओलीको कतिपय कदमको आलोचना गर्दै आएका मन्त्री हुन् । भुषालले त ओलीको क्याबिनेट बैठकमा बेला बेलामा प्रतिवाद गर्थे ।

पूर्व माओवादीबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री बिना मगरले राजीनामा दिएका छन् । पूर्व माओवादीका रामबहादुर थापा बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् । उनीहरु लामो समययता ओलीसँग नजिक रहँदै आएका छन् ।

मधेश केन्द्रित दलबाट नेकपामा प्रवेश गरेका रामेश्वर रायले पनि राजीनामा दिएका छन् । अर्का नेता हृदयश त्रिपाठी भने सरकारमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्