काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएका छन् । उनले सुरक्षा अवस्थाबारे छलफल गर्दै सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बदलिएको परिस्थितिका बारेमा छलफल गर्नुका साथ आवश्यक निर्देशन दिएको जानकारी दिए । तर, कस्तो निर्देशन दिए भन्ने खुलाइएको छैन ।
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आवश्यक परे संकटकाल सम्म लगाउनुपर्ने हुनसक्ने भन्दै हाइ एलर्टमा रहन निर्देशन दिएका छन् । उनले निर्देशन दिंदा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि थिए ।
आजै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बिघटनको सिफारिश गरेका थिए । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिसकेकी छिन् ।