Logo

अख्तियारपछि सिआइबीलाई घुसको अफर



काठमाडौं, ७ पुस । भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा लुट मच्चाएका पूर्व अध्यक्ष लम्बोधर न्यौपानेले आफ्नो चलखेल जारी राखेका छन् । प्रहरीलाई घुसको प्रस्ताव गर्नेदेखि उनले अदालतसम्म चलखेल गरेका छन् ।

उनीविरुद्ध मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएपनि उनी आइतबार छुटेका छन् । अनुसन्धान पुरा नभएको भन्दै सरकारी वकिल कार्यालयले जमानीमा उनलाई छाडेको हो । अनुसन्धान थप गर्न सरकारी वकिल कार्यालयले सिआईबीलाई लिखित निर्देशन दिएको छ । सिआईबीले ठगी र कीर्ते मुद्दामा उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । कीर्ते मुद्दामा प्रमाण नपुगेपछि थप अनुसन्धान हुने भएको छ ।

आफ्नै बयानबाट खुल्यो कीर्ते

न्यौपानेकै बयानबाट उनीहरुले कलेजको बिधान नै कीर्ते गरेको खुलेको थियो । कलेजको सम्बन्धनको क्रममा सक्कली बिधानमा गैरनाफामुलक भनेर राखिएको थियो । तर, पोखरा विश्वबिद्यालयमा बुझाउँदा त्यो शब्द हटाएर बुझाएका थिए ।

बयानको क्रममा न्यौपानले कलेज गैरनाफामूलक नभई नाफामूलक भएको जिकिर गरेका थिए । त्यो बिधानमै उल्लेख भएको बताएपछि प्रहरीहरु चकित भए । त्यसपछि प्रहरीले पोखरा विश्वबिद्यालयबाट बिधान मगाएको थियो । जसमा गैरनाफामूलक भन्ने शब्द भेटिएन । पछि कलेजबाट बिधान झिकाउँदा विश्वबिद्यालयमा कीर्ते गरेर बिधान बुझाइएको पुष्टि भएको छ । सक्कली बिधानमा रहेको गैरनाफामुलक शब्द हटाएर पोखरा विश्वबिद्यालयमा बुझाइएको थियो । जून कीर्तेमा अन्य व्यक्तिहरु समेत छानबिनमा तानिने सम्भावना छ ।

सो कलेज संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थियो । २०५६ सालमा पोखरा विश्वबिद्यालयबाट सम्बन्धन पाएको थियो । २०५१ सालमा बनेको कलेजको बिधानमा संस्थाको उदेश्यमा मूनाफारहित भन्ने रहेकोमा त्यसको दफा ३.१ मा रहेको बुँदा हटाएर पेश गरेका थिए । बिधान कीर्ते गरेको सम्बन्धी समेत अनुसन्धान थालिएको सिआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए । नक्कली बिलहरुको आधारमा करोडौं अनियमितता गरेको आरोपमा न्यौपाने लगायत तत्कालिन सञ्चालकमाथि प्रहरीले छानबिन थालेको हो ।

सर्वाेच्चमा चलखेल असफल

अख्तियारमा ७८ लाख घुसकाण्डमा परेका न्यौपानेले मुद्दा नचलाउन प्रहरीदेखि अदालतसम्म चलखेल गरेका छन् । सिआईबीलाई अप्रत्यक्ष रुपमा उनले घुसको प्रस्ताव गरेको स्रोत बताउँछ । विदेशमार्फत उनले घुसको प्रस्ताव गरेका थिए ।

न्यौपानेले प्रहरीविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतले सोमबार खारेज गरिसकेको छ । देवानी प्रकृतिको विषय ठगी मुद्दा नहुने र आफुलाई पक्राउ गर्न नमिल्ने उनको दाबी थियो । सर्वाेच्चले आइतबार प्रहरी अनुसन्धानको सक्कल मिसिल समेत झिकाएको थियो ।गत सोमबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको इजलाशले रिट खारेज गरेको हो । रिट खारेजसँगै ठगी र कीर्ते मुद्दा चलाउन प्रहरीलाई बाटो खुुलेपनि उनले सरकारी वकिलमा समेत चलखेल गरेका छन् । भक्तपुर अदालतले समेत सुरुमा म्याद थप गर्न आँनाकानी गरेको थियो ।

अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरणमा उनीविरुद्ध यसअघि नै मुद्दा दायर भएको थियो । कलेजको भएको विवाद आफु अनुकुल निर्णय गरिदिने उनले घुस बुझाएको पुष्टि भएपछि पाठकसहित उनलाई आयोगले मुद्दा दायर गरेको थियो । बिशेष अदालतमा ७८ लाख रुपैयाँ बुझाएर छुटेका थिए ।

कलेजले नै दिएको जाहेरीका आधारमा यसपटक पक्राउ परेका हुन् । कलेजको ८ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआईबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानले ठगी गरेको कलेजले जनाएको छ ।

न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए । जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि बिना खर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै २० फागुन २०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैया कुनै बिल नै पेश नगरी सञ्चालकहरुलाई दिने निर्णय गरेको थियो । काल्पिनिक शीर्षकमा उनले पटक पटक रम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ ।

कलेजले गत २४ कात्तिकमा सिआईबीका जाहेरी दिएको थियो । न्यौपाने पक्राउ परेपनि त्यतिखेरका सञ्चालकहरु ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं बिशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लबराज भट्टराईलाई भने सिआईबीले पक्राउ गर्न सकेको छैन ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्