काठमाडौं, ११ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको कदम चालेपछि सातजना मन्त्रीले राजीनामा दिएका थिए । तीमध्ये पाँचजना पूर्व माओवादीका र दुईजना पूर्व एमालेका हुन् ।
राजीनामा दिनेहरुमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, विना मगर र रामेश्वर राय यादव पूर्व माओवादीका हुन् भने योगेश भट्टराई र घनश्याम भुसाल पूर्व एमालेका हुन् । पाँचजना पूर्व माओवादीले राजीनामा दिएपछि त्यो संख्या ओलीले पूर्व माओवादीबाट नै परिपूर्ति गरे ।
ओलीले टोपबादुर रायमाझीलाई ऊर्जामन्त्री नियुक्त गरे । सहरी विकासमा प्रभु साह, खानेपानीमा मणिचन्द्र थापा, श्रममा गौरीशंकर चौधरी र युवा तथा खेलकुदमा दावा लामालाई ल्याए । यी पाँचैजना पूर्व माओवादी हुन् । यसबाहेक गणेशसिंह ठगुन्ना सामान्य प्रशासन, प्रेमबहादुर आले वन, जुलीकुमारी महतो महिला र विमला वि.क. उद्योगराज्यमन्त्री बनाइए ।
ओलीले पाँचको बदला पाँचै जना पूर्व माओवादीलाई आफ्नो पक्षमा पारेर मन्त्री बनाए । जसमध्ये टोपबहादुर रायमाझी र मणिचन्द्र थापा केही दिन अघि नै कित्ता परिवर्तन गरेर गएका थिए । प्रभु शाह शुक्रबारमात्र ओली पक्षमा पुगेका थिए । गौरीशंकर चौधरीले पनि मन्त्री पद पाउने भएपछि कित्ता परिवर्तन गरेका थिए । दावा लामा बादलका विश्वासपात्र हुन् । बादल ओली पक्षमा पुगेपछि लामाले पनि मौका पाए ।