Logo

देउवाको दाउः मध्यावधि चुनाव जितेर फेरि प्रधानमन्त्री बन्ने



काठमाडौं, १३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बिघटनको अवस्थामा पुर्याइएको छ । यसको धेरैले विरोध गरिरहेका छन् तर कतिपयले समर्थन या विरोध गरेजस्तो मात्र गर्ने सम्मको गतिविधि गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको प्रतिनिधिसभा बिघटनको कदमलाई असंवैधानिक भनी विरोध गरेपनि मध्यावधि चुनाव घोषणाको विरोध गरेका छैनन् ।

देउवा निकटस्थ नेताहरु विमलेन्द्र निधि, एनपी साउद, डा. नारायण खड्कालगायतले आन्दोलनमा भन्दा चुनावको तयारीमा जानुपर्ने बताउँदै आएका छन् । देउवा पक्षका हस्तीहरुको यो तर्कले काँग्रेसको संस्थापन पक्ष अहिलेको संकटलाई अवसरमा परिणत गर्न चाहन्छ भन्ने बुझ्न सकिन्छ ।

नेकपा विभाजित अवस्थामा भएकोले काँग्रेसभित्र चुनाव आफ्नो पक्षमा जाने तर्क गर्नेहरु छन् । जसमध्ये संस्थापन पक्षकै नेताहरु छन् । देउवाले ज्योतिषबाट छ पटक प्रधानमन्त्री बन्ने योग रहेको सुनेका छन् । उनी फेरि प्रधानमन्त्री बन्नेमा धेरै आशावादी छन् ।

काँग्रेस मध्यावधि चुनावमा केन्द्रित भएमा महाधिवेशन सार्न पनि देउवालाई सजिलो हुनसक्छ । आवधिक भन्दा एक वर्ष पछाडि धकेलिएको काँग्रेस महाधिवेशन भइहालेमा देउवालाई ठुलो चुनौती हुनसक्छ । वैशाखमा मध्यावधि भएमा देउवालाई टिकट बाँड्न पाइने र महाधिवेशन पनि सार्न पाइने दोहोरो फाइदा हुनसक्छ । त्यसैले मध्यावधि चुनाव घोषणालाई देउवाले अस्त्रका रुपमा प्रयोग गर्न खोजेका छन् ।

प्रतिनिधिसभा बिघटनको अवस्था बनाउँदा प्रधानमन्त्री ओलीलाई देउवाले भित्री रुपमा साथ दिएको चर्चा चलिरहेको छ । संवैधानिक परिषदको नियुक्तिहरुमा देउवाले चाहेका मान्छेहरुको नाम सिफारिश भएकाले आशंकालाई बल पुगेको हो । त्यसमाथि देउवा निकटस्थहरु आन्दोलनमा नगई चुनावी तयारीमा जानुपर्छ भन्न थालेका छन् ।

ओलीले सत्ता संकट टार्न चालेको प्रतिनिधिसभा बिघटनको कदममा देउवा पनि भित्री रुपमा मिलेको विषय उठ्नुमा ज्योतिषको भविष्यवाणी र पुनः प्रधानमन्त्री बन्ने आशा पनि एउटा कारण हो । मध्यावधि चुनाव भएमा नेकपा फुटको फाइदा लिन सक्ने देउवा पक्षको ठम्याई भएपनि चतुर राजनीतिक खेलाडीको परिचय बनाएका ओलीले अर्को अस्त्र नहान्लान् भन्न सकिदैन । प्रचण्डले भनेजस्तै ओलीको बोलीमा फुरुङ्ग बनाउने क्षमता छ । अहिले देउवा फुरुङ्ग भएका छन् ।-फाइल तस्बिर 



प्रतिक्रिया दिनुहोस्