काठमाडौं, १४ पौष । नेपाल भ्रमणमा रहेको उच्च तहको चिनियाँ टोलीले आज विहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवा निवास बुढानिलकण्ठ पुगेको टोलीले द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेको छ ।
चिनियाँ टोलीले नेपाली काँग्रेस चीनको पुरानो मित्र रहेको बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश पनि सुनाएको थियो । चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको बताएको थियो ।
चिनियाँ टोलीले देउवासँग भेट्दा डा. नारायण खड्का र डा. दिनेश भट्टराई पनि सहभागी थिए । भेटमा चिनियाँ राजदूत होउ यान्छी भने सहभागी भइनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । हिजो विहान नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुृष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका अलावा वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।
चिनियाँ टोलीले जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोली आइतबार नेपाल भ्रमणका लागि आएको थियो । चाइना साउर्थन एयरको चाटर्ड विमानमा चिनियाँ टोली चार दिने नेपाल भ्रमणका लागि आएको हो ।