Logo

आखिर के चाहन्छन् बामदेव गौतम ?



पुष १७, काठमाण्डौ । नेकपाको विवादमा उपाध्यक्ष बामदेव गौतमको भूमिका महत्वपूर्ण हुने गरेको छ । हरेकपटकको विवादमा बामदेवलाई प्रयोग गर्नेदेखि आश्वासन दिनेसम्मको काम भयो । बामदेवले पनि विवाद चुलिएका बेला विभिन्न प्रस्ताव अघि सारेर विवाद कम गराउने भूमिका खेलेका थिए । अहिले भने पार्टी विभाजनको संघारमा रहेका बेला उनै बामदेव पर्ख र हेरको अवस्थामा देखिन्छन् ।

जबजब सत्तारुढ दल नेकपाको विवाद चुलिन्थ्यो, तब उपाध्यक्ष गौतमको भूमिका महत्वपूर्ण हुने गर्दथ्यो । विशेषगरी सचिवालयमा केपी ओली र प्रचण्ड माधव नेपाल समुहबीच बहुमत सदस्यका लागि कसरत हुँदा बामदेव निर्णायक जस्तै हुन्थे । पार्टी एकतापछि बनेको सचिलायमा नौ जना सदस्य थिए । जहाँ केपी ओलीतर्फ महासचिवसमेत रहेका विष्णु पौडेल र सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा थिए । अर्को समुहमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ थिए ।

बामदेव प्रचण्ड माधव समुहमा जाँदा उतै बहुमत पुग्थ्यो भने ओली समुहा जाँदा उतै बहुमत पुग्थ्यो । त्यसैले पनि बामदेव सधैँभरी तानातानमा थिए । अहिले पार्टी विभाजनकै स्थितीमा पुग्दा बामदेव तटस्थ छन् । तर दुवै समुहले फकाउने प्रयास गरिरहेका छन् । ओली समुहमा रहेका सचिवायका महासचिव विष्णु पौडेलले बामदेव आफुहरुकै समुहमा रहेको दावी गरेका छन् । लामो समयदेखि ओलीसँग सहकार्य गरेका बामदेव पार्टी एकताको पक्षमा रहेकाले तत्काल तटस्थ देखिए पनि आफूहरुतिरै आउने पौडेलको दावी छ ।

उता प्रचण्ड माधव समुहले पनि बामदेवलाई आफ्नो समुहमा ल्याउने ठूलै कसरत गरिरहेको छ । शुक्रबार मात्रै पनि बामदेव र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । समान्नतर बैठकसँगै नेकपालाई विभाजन गराएका केपी ओली र प्रचण्ड–माधव समूह कतै पनि नरहेको बताउँदै आएका गौतमले बिहान खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेट गरेका हुन् । अर्का अध्यक्ष माधवकुमार नेपालले पनि बामदेव आफूहरुकै समुहमा रहने विश्वास व्यक्त गरेका छन् ।

उपाध्यक्ष गौतमले संसद विघटनको आलोचना गरेपनि १५ सय जना सदस्यहरूको तटस्थ समूह बनाएर अझै पनि पार्टी एकताको लागि दबाब दिइरहेको दाबी गरिरहेका छन् । पार्टी एक भयो भने त बामदेवको जित अवश्य हुनेछ, औपचारिक रुपमै विभाजत भएको खण्डमा उनी कुन समुहतिर लाग्छन् त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्