Logo

रेशम र लक्ष्मणको नाममा तराईमा आगो बाल्ने अर्को तयारी



काठमाडौं, १८ पौष । टीकापुरमा पाँच वर्ष अघि नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एकजना बालकको विभत्स हत्या हुने गरी भएको घटनामा दोषी ठहर भएका निवर्तमान सांसद रेशम चौधरी र थारु नेता लक्ष्मण थारुलगायत जन्मकैदको सजाय भोगिरहेका छन् । घटनामा रेशम चौधरी फरार थिए । चुनाव जितेर सांसद भए । कारागारबाट सपथका लागि संसद भवन छिरेर फेरि ल्याइए । उनको छुट्ने चर्चा चल्दै थियो । तर, उच्च अदालतले दोषी ठहर गर्दै जन्मकैद सजाय सुनायो ।

रेशम चौधरीलगायतमाथि तोकिएको सजायप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलन शुरु गरिएको छ । आन्दोलन अन्र्तक्रिया देखि लाठी जुलुस र आमसभा सम्म छ । तराईमा थारुहरुको माघी पर्व नजिकिदै गर्दा आन्दोलनको घोषणा गरिएको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।

टीकापुरमा २०७२ सालमा भएको घटनामा सुरक्षाकर्मीलाई लखेटेर र छेकेर योजनावद्ध तरिकाले हत्या गरिएको प्रहरी अनुसन्धानलाई नै आधार मानेर अदालतले फैसला गरेको छ । हुनपनि लाठीसहित थारु आन्दोलनकारी गाउँ गाउँबाट आएका थिए ।

अहिले फेरि लाठी जुलुस गर्न लाग्नुलाई अर्को खतराका रुपमा लिइएको छ । तराईमा फेरि आगो बाल्ने तयारी भइरहेको छ । एकातर्फ, प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दलहरु सडकमा छन् । अर्कोतर्फ, तराईमा फेरि आन्दोलनको घोषणा भएको छ ।

टिकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको हो । हिजो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।

२१ वटा विभिन्न संघसंस्थाहरु अभियानको पक्षमा रहेका छन् । पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरुसँग अन्र्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजना देखि थप आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ ।

७ भाद्र २०७२ मा टीकापुरमा भएको थारु विद्रोहका क्रममा एसएसपीसहित सात प्रहरीहरु र एक बालक मारिएका थिए । अभियानमा साथ दिने संघसस्थाहरुमा जनता समाजवादी पाटी, आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायतका २१ वटा संघसंस्था रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्