भरतपुर,२० पुस: गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी पुगेका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुगेका हुन् ।
भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गरेका थिए । उनले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उनको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिए ।
कोरोना सङ्क्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया एक महिनादेखि अस्पतालमा उपचाररत छन् । उनको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ । गृहमन्त्री थापा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ आएका हुन् ।-रासस/File Photo