काठमाडौं, २२ पौष । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई शुरु भएको छ । आजबाट यसको निरन्तर सुनुवाई हुनेछ । संवैधानिक इजलास गठन भई सुनुवाई शुरु भएपनि रिट निवेदक १२ जनाले वृहत पूर्ण इजलाश गठनका लागि निवेदन दिएका छन् । यसबारे अध्ययन भइरहेको बुझिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । विगतमा संसद बिघटनसम्बन्धी रिटको अन्तिम किनारा वृहत पूर्ण इजलासबाट लगाइएको थियो । यसैलाई नजिर मानेर निवेदकहरुले पूर्ण इजलास गठनका लागि निवेदन दिएका हुन् । ।
मङ्गलबार नेकपा नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत रिट निवेदक १२ जनाले संयुक्त रुपमा यसअघि प्रतिनिधिसभा बिघटनविरुद्ध दिएको रिटको सुनुवाई वृहत पूर्ण इजलासबाट होस् भनी निवेदन दिएका थिए । ५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर संसद बिघटनको राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गराएपछि रिट दायर भएको थियो । ८ पौषमा एकल इजलासले संवैधानिक इजलासमा पेश गर्न आदेश भएको थियो । १० पौषमा संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ पेस गर्न आदेश जारी गरेकोमा भइसकेको छ । २२ पौषबाट निरन्तर सुनुवाई हुने आदेश जारी गरेको अवस्था छ ।
निवेदनमा प्रतिनिधिसभा बिघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई यो संविधान र कानुनको गम्भीर व्याखया गर्नुपर्ने विषय पनि भएको भन्दै अन्तिम व्याख्या वृहत् पूर्ण इजलासले मात्रै गर्न सक्ने जिकिर गरिएको छ ।