काठमाडौं, २२ पौष । नेपाल प्रहरीको एसपीको सरुवा भएको छ । गएराति निकालिएको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सानुराम भट्टराईको सरुवा भएको छ । उनी एसपी बढुवा हुँदा आफ्नो ब्याचीमा पहिलो नम्बरमा परेका थिए । सानुराम विगतमा ओलीको सुरक्षागार्ड बसेका थिए ।
पर्सा प्रहरी प्रमुख गंगा पन्त सीआइबीमा सरुवा भएकी छिन् । उनले पर्सामा बस्दा चर्चामा आउने कामहरु गरेकी थिइन् । चितवन सरुवा हुँदा गंगालाई राजनीतिक कारणले रोकिएपछि पर्सा पठाइएको थियो । सर्वेन्द्र खनाल आइजीपी हुँदा प्रचण्डको व्यक्तिगत चाहनामा उनलाई रोकेको विषय बाहिर आएको थियो ।
आभुषण तिमिसनाले सीआइबीबाट सिन्धुली जिल्लाको इञ्चार्ज बन्ने मौका पाएका छन् । उमा प्रसाद चतुरबेदी कञ्चनपुर, कृष्णप्रसाद पंगेनी अपराध महाशाखा, दिपेन्द्र शाही बारा, प्रकाश रानाभाट धनुषा, बेलबहादुर पाण्डे पर्सा सरुवा भएका छन् । भुपेन्द्र बहादुर खत्री काभ्रेको इञ्चार्ज बनाइएका छन् । लोकेन्द्र श्रेष्ठ बाग्लुङ, सिद्धिविक्रम शाह रौतहट र सोमेन्द्रसिंह राठौर मकवानपुर सरुवा भएका छन् ।