काठमाडौँ, २३ पुस । भारतले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणका लागि ३० करोड ६० लाख सहयोग गरेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले राष्ट्रिय पुनर्निर्माणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई विद्यालय पुनर्निर्माणका लागि उक्त रकम बराबरको चेक बुधबार हस्तान्तरण गरकी हुन् ।
खम्पाले प्रधिकरणका प्रमुख अधिकृतसंग भेटी भारतीय सरकारको सहयोगमा निर्माण भइरहेको विभिन्न परियोजना बारेमा समेत छलफल गरेकी भारतीय राजदूतावासले जनाएको छ ।
चेक हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई ८१.९८ करोड रकम सोधभर्ना गरेको छ । भारतले नेपालको शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि अनुदान सहयोग कार्यक्रम अन्तरगत ५० मिलियन अमेरिकी डलरको सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । यस कार्यक्रम अन्रतगत त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ ।
उक्त परियोजनाहरु गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा रहेका छन् । गोरखामा ३ र नुवाकोटमा ५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेकोमा ७ वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेको जनाइएको छ ।
भेटमा भारत सरकारको सहयोगमा आवास, स्वास्थ्य तथा सांस्कृतिक सम्पदाको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियाजनाबारे समेत छलफल भएको थियो । भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० घर निर्माणका लागि १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यसैगरी, ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि थप ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता भारत सरकारले व्यक्त गरेको छ । आवास क्षेत्रका परियोजनाहरु लगभग सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण भइसकेको छ भने शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु विभिन्न चरणमा द्रुत रुपमा अघि बढिरहेको जनाइएको छ ।