काठमाडौं, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिम पुगेर नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका प्रभावशाली नेता भीम रावलमाथि मन्त्री बन्न नपाएर छटपटिएको आरोप लगाएका छन् । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले मन्त्ती बन्न नपाएपछि रावलले आफूलाई गाली गर्दै हिंडेको बताए ।
‘एउटा प्रदेशबाट मात्र एकजनालाई मन्त्री बनाउने ? मैंले बनाउन मानिनँ । उहाँलाई पीर पर्यो,’ भीम रावलतर्फ संकेत गर्दै ओलीले भने । सुदुरपश्चिमले यसपटक चारजना मन्त्री पाउँदा खुशी हुनुपर्नेमा रावल नभएको बताए । उनले रावलमाथि मन्त्री बन्न हत्ते गरेको र नपाएपछि आफ्नो उछितो काटेर हिंडेको बताए ।
ओलीले आफूलाई गणतन्त्रवादी होइन भनी तर्क गर्नेहरुलाई चुनौती दिदै आफू ५० वर्ष गणतन्त्रका लागि संघर्ष गरेको बताए । उनले भने, ‘गणतन्त्रका लागि संघर्षको मैदानमा ५० वर्ष अघि उत्रने मैं हुँ । १४ वर्ष जेल बसेको थिएँ । अहिले गणतन्त्रवादी होइन भन्दै हिंड्ने ?’
गुमेको भुमिलाई समेटेर नक्शा प्रकाशन गरिएको भन्दै त्यसबाट बाहिर राष्ट्रवाद देखिने र भित्र उखरमाउलो चलखेल गर्नेहरु छटपटिएको बताए । उनले देशको गुमेको भुमि समेटेर नक्शा बनाइएको समेत बताए ।