काठमाडौं, १० माघ । कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमबारे फरक–फरक राय प्रस्तुत गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रियसभाका सदस्यसमेत रहेका अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानबिपरीत भएको दाबी गरेका छन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले घोषणा गरेपनि कुनैपनि हालतमा चुनाव नहुने स्पष्ट पारे । उनले भने,‘चुनाव एक हुँदैन्, दुई हुँदैन्, तीन हुँदैन्, हुँदै हुँदैन् । के का लागि जनादेश चाहियो ? पाच बर्षका लागि तपाईलाई चुनेको होइन जनताले ? उहाँले अहिलेको व्यबस्था सिध्याउन यो गर्नु भएको हो। यो अपराध हो। सन्कीको भरमा गरेको काम बदर गर्नु पर्छ।’ उनले प्रधानमन्त्रीको कदम संविधान विरुद्धको काम भएको टिप्पणी गरे । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विषेशाधिकार नभएको उनले दाबी गरे ।
उनले ओलीले चुनाव गर्न यस्तो कदम नचालेको पनि आरोप लगाए । ‘चुनाव गराएपछि त उहाँको प्रधानमन्त्री फुत्किन्छ । अहिले प्रधानमन्त्री छोड्नुहोस, पार्टीको अध्यक्ष बसिरहनुहोस भन्दा त यत्रो अपराध गर्नेले, अब चुनाव गरेर अर्कोलाई प्रधानमन्त्री दिन्छ भनेर कोही पत्याउँछ ? नेपाली सेना, प्रहरी, कर्मचारी, पत्रकार, बुद्धिजीवीहरुले विचार गर्नुपर्ने कुरा-ओलीले यो व्यवस्था सिध्याउनको निम्ति यो काम गरेको हो ।’