विराटनगर, माघ १५ । आगलागी जस्ता घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा आएको छ । उक्त कार्यक्रमबाट प्रदेश नं १ मा उदयपुर जिल्लाबाहेक १३ जिल्लाका ३८ हजार ६९६ लाभग्राही लाभान्वित हुने भएका छन् ।
विगत १० वर्षका अवधिमा प्रदेश १ मा आगलागीका ३ हजार ८७७ घटनामा ११८ ले ज्यान गुमाएका छन् भने अर्बौं रकम बराबरको सम्पत्ति नष्ट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
सरकारले यस कार्यलाई मूर्तरूप दिन विराटनगरको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयमार्फत सुनसरी र मोरङ, सघन शहरी तथा भवन निर्माण कार्यालय चन्द्रगढी झापाबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङ, सघन शहरी तथा भवन निर्माण कार्यालय ओखलढुंगाबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बु तथा सघन शहरी तथ भवन निर्माण कार्यालय धनकुटाबाट धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका विपन्न परिवारमा काम गर्ने निर्देशन र बजेट विनियोजन गरेको छ ।
संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयले प्राप्त गरेको स्वीकृत आवास कार्यक्रमबाट सुनसरीका चार हजार १५८ र मोरङमा ६ हजार ८७८ घरधुरी लाभान्वित हुने आयोजनाका इन्जिनीयर राजु शर्माले जानकारी दिए । यस कार्यक्रमबाट फुसको घर भएका लाभग्राहीको घरमा फुसको छानो हटाएर जस्तापाता लगाइने उनले जानकारी दिए । यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमै लाभग्राहीलाई फुसको छानो हटाउन र जस्तापाता हाल्न शुरूको किस्तामा ३० हजार र अन्तिम किस्तामा २० हजार प्रत्येक लाभग्राहीलाई प्रदान गरिने इन्जिनीयर शर्माले बताए । सुनसरीमा २० करोड ७९ लाख र मोरङमा ३४ करोड ३९ लाख खर्च हुने जानकारी दिए ।
उनका अनुसार चारओटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा निर्वाचन क्षेत्र नं १ मा एक हजार ५०, निर्वाचन क्षेत्र नं २ मा ८३४, निर्वाचन क्षेत्र नं ३ मा एक हजार १३७ र निर्वाचन क्षेत्र नं ४ मा एक हजार १३७ जना गरी चार हजार १५८ जना छनोट हुने भनिएको छ ।