मकवानपुर, १६ माघ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिएका छन् । शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्छ भने ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गरे । उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट निस्केको ¥यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो ।
स्मारकमा श्रद्धाञ्जलि अर्पण
शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित अमर शहीद स्मारकमा आज पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु क्रमशः विभिन्न दलहका नेता एवं सुरक्षा निकायका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।-रासस/File Photo