Logo

तारोमा रेणु दाहाल



काठमाडौं, १७ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल फेरि चर्चामा आएकी छिन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा शिलान्यास गर्ने सिटी हल र ६ लेनको सडक शिलान्यास बहिष्कार गरिन् । शिलान्यासप्रति आपत्ती समेत जनाइन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा रेणुप्रति कटाक्ष गर्दै पिकनिक मनाउन गएको टिप्पणी गरे । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको झण्डामुनी चुनाव लड्दा मतपत्र च्यात्नुनपर्ने बताए । उनको व्यङ्ग्य रेणु दाहालप्रति थियो जो स्थानीय निकायको चुनावमा मतपत्र च्यातिँदा पुनः मतदान भई विजयी भएकी थिइन् । दाहाललाई चुनाव जिताउन मतपत्र च्यातिएको विषय पनि बाहिर आएको थियो ।

यसअघि ओलीले प्रचण्डप्रति व्यङ्ग्य गर्दै सन्तानलाई लाभको पदमा पुर्याउने काम गरेको आरोप लगाएका थिए । छोरीहरु र नातेदारलाई फाइदा गराएको ओलीको अभिव्यक्तिपछि प्रचण्डले भनेका थिए, ‘सन्तान हुनु मेरो गल्ती होइन ।’ उनले ओलीलाई ‘निसन्तान नहुनु पनि गल्ती नभएको’ टिप्पणी गरेका थिए । यी दुईबीच यही विषयले आरोप प्रत्यारोप समेत चल्दै आएको छ ।

आज ओली भरतपुर पुगेर सिटी हल र सडक उद्घाटन गरेर मेयर रेणुलाई बोलीले मात्र नभई व्यवहारले नै तारोमा पारे । उनले रेणुप्रति व्यङ्ग्य गर्दै भने, ‘केटाकेटीले शिलान्यास गर्ने ?’ ओली पक्षले पनि रेणुकै विषय कोट्याउँदै प्रचण्डमाथि परिवारलाई स्थापित गराउन खोजेको आरोप लगाउँदै आएको छ । विगतमा मतपत्र च्यातिएको विषयलाई जोडतोडले उठाउन थालेको छ ।

प्रचण्डकी छोरी रेणु दाहाल नेकपा विभाजनसँगै विरोधी समूहबाट तारोमा पर्न थालेकी छिन् । उनी यसले फेरि चर्चामा आइरहेकी छिन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्