Logo

कोरोनाको ‘यूके भेरियन्ट’ विरुद्ध नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी



एजेन्सी, १८ माघ। बेलायतमा नयाँ स्वरुपको कोरोनाविरुद्धको नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको ट्रायलमा खोप ८६ प्रतिशत प्रभावकारी देखिएको खोप निर्माता कम्पनीले दाबी गरेको छ ।

समग्रमा भने खोपको प्रभावकारिता ८९.३ प्रतिशत रहेको बताइएको छ । १८–८४ वर्ष उमेर समूहमा गरिएको ट्रायलमा सहभागी भएकामध्ये २७ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि थियो । ‘अफ्रिकन भेरियन्ट’ का लागि भने उक्त खोप ६० प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । कम्पनीका कार्यकारी अधिकृत स्टान इर्कले बीबीसीसँग भनेका छन्, ‘बेलायतमा ठूलो स्केलमा गरिएको खोप ट्रायलको नतिजा निकै शानदार रह्यो । जुन हामीले सोचेभन्दा धेरै माथि हो ।’ अफ्रिकन भेरियन्टका लागि पनि मानिसहरूले सोचेभन्दा खोप प्रभावकारी देखिएको उनको भनाइ छ ।

नोभाभ्याक्सले इंग्ल्यान्डको पूर्वी–उत्तरी क्षेत्र स्टोक्टन अन टिजमा खोप निर्माण गरिरहेको छ । बेलायतले ऊसँग यसअघि नै ६० लाख मात्रा खोप किन्ने सम्झौता गरेको छ । बेलायतको मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीले उक्त खोप प्रयोगको अनुमति दिए सन् २०२१ को मध्यसम्ममा सबै मात्रा उपलब्ध हुने सरकारले विश्वास लिएको छ । अहिले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, फाइजर र बायोएनटेक तथा मोडेर्नाको खोप कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्