काठमाडौं, माघ २२। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा सरकारले बुधवार गरेको नियुक्तिलाई बलमिच्याइँको संद्या दिदै त्यसको विरोधमा देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको नियुक्ति गरी पदाधिकारी खटाएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आमहड्तालको कार्यक्रमहरु सार्वजनिक गरेको जनाएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रूपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूह आकस्मिक रूपमा देशव्यापी आम हड्तालमा लागेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरूमा गरिएको नियुक्ति बल मिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताएका थिए ।
बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधन र परिक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाइएको छ ।