काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे, ‘कृषि क्षेत्रको समस्या समाधानमा बाधा हाल्ने को हो ?’ हाजिरीजवाफको शैलीमो उनले सोध्दा उत्तर आयो, ‘माधव नेपाल !’
उनले खोजेको उत्तर त्यही थियो । उनले भने, ‘हो ।’ आज अखिल नेपाल किसान संघको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बोल्दै ओलीले प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गरे ।
किसान र सुकुम्वासीको समस्या समाधान गर्न माधवकुमार नेपालले अवरोध गरेको ओलीको आरोप थियो । उनले भने, ‘सुकुम्वासी आयोग बनाउँदा सिलिङमाथि टाउको ठोक्किने गरी माधव नेपाल आउनुभयो । नवलपरासीको अन्धभक्त वकिल लगाएर मुद्दा हाल्न लगाउनुभयो, अहिलेसम्म मुद्दा जारी छ ।’
माधव नेपालमाथि कपाल लुछिलुछि छाति पिटिपिट रोइरहेको टिप्पणी गरे । उनले माधव नेपालप्रति व्यङ्ग्य गर्दै भने, ‘हलो कोदालो समातेको छैन कहिले, धान कसरी रोप्छन् रोपेको छैन, नजोती खान पाएपछि किन जोत्ने । कृषि भुमि क्षेत्रको समस्या बुझ्न चाहन्नुहुन्न ।’
माधव नेपाल आफ्ना मान्छे मात्र खोज्दै हिंड्ने नेता भएको आरोप लगाए । उनले भने, ‘आफ्ना मान्छे मात्र चाहिने ?’ पद्मा अर्याललाई बोलाएर हप्काउन खोजेको बताए । तर अर्यालले नमानेर अडान लिएर समस्या समाधानमा भुमिका खेलेको बताए ।-तस्बिर: मुकुन्द कालिकोटे