Logo

अनलाइन सुविधाले खाता खोल्न सहज



काठमाडौं, माघ २३ ।बैंक तथा वित्तीय संस्थामा खाता खोल्न चाहनेलाई अनलाइनको सुविधा दिएपछि निक्षेपकर्ताको संख्या बढेको छ । हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूबाट ४२ लाख ४४ हजार खाता थपिँदा मङ्सिरसम्ममा कुल निक्षेप खाताको संख्या ३ करोड ३५ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा यस्तो संख्या २ करोड ९२ लाख थियो । पछिल्लो समय सर्वसाधारणले शेयरबजारको प्रारम्भिक शेयर ९आईपीओ०मा लगानी गर्ने उद्देश्यले डिम्याट खोल्न बैंकको खाता खोलेकाले पनि यस्तो संख्या बढेको बैंकरहरू बताउँछन् ।

यस अवधिमा बैंकहरूले अनलाइन बचत खाता खोल्न सुविधा दिएका थिए । कोभिड महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखी भुक्तानी गर्न, निक्षेप खाता खोल्नदेखि कर्जासमेत अनलाइनबाटै आवेदन दिएर उपयोग गर्न सकिने प्रडक्टहरू बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याए ।

सबैभन्दा बढी खाता संख्या वाणिज्य बैंकहरूको वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा गत आवमा कुल २ करोड ४२ लाखको संख्यामा रहेको निक्षेप संख्या बढेर २ करोड ८८ लाख पुगेको छ ।

विकास बैंकको निक्षेप खातामा भने संकुचन आएको छ । ४४ लाख २६ हजारको संख्यामा रहेको निक्षेप खाता गतवर्ष ३ लाख ७४ हजारको संख्यामा घटेको थियो । चालू आवमा विकास बैंकमा ४० लाख ५२ हजार मात्र निक्षेप खाता रहेको छ । करीब आधा दर्जन विकास बैंकहरू वाणिज्य बैंकसँग गाभिएकाले विकास बैंकको निक्षेप खाताको संख्यामा कमी देखिएको डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकाल बताउँछन् ।

निक्षेप खाता संख्या मात्र होइन, ऋणीको संख्याको वृद्धि पनि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा ३ लाख ३० हजारको संख्यामा रहेको विकास बैंकको ऋणी यस वर्ष २८ हजारको संख्यामा घटेका छन् । कम्पनीहरूको निक्षेप खाता संख्या भने ९१ हजारको संख्यामा वृद्धि भएर चालू आवमा ६ लाख ६९ हजार पुगेको छ । गत आवमा यस्तो संख्या ५ लाख ७७ हजार थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्