एजेन्सी २३ माघ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले म्यान्मारमा भएको सैन्य ‘कु’ विफल पार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । उनले चुनावी नतिजा उल्ट्याउनु ‘अस्वीकार्य’ भएको बताउँदै ‘कु’ गर्नेहरूलाई शासन गर्ने तरिका बुझाउनुपर्ने देखिएको जनाए ।
‘यो ‘कु’ विफल तुल्याउनका लागि म्यान्मारमाथि पर्याप्त दबाब दिन अन्तर्राष्ट्रिय समुदायका प्रमुखलाई परिचालन गर्न हामी आवश्यक सबै कदम चाल्छौं,’ उनले भने, ‘जनचाहना र चुनावी परिणाम उल्ट्याउनु पूर्ण रूपमा अस्वीकार्य छ । म आशा गर्छु, म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’
सैनिक ‘कु’ बारे राष्ट्रसंघीय सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्ने जनाइएको छ । तर विज्ञप्तिमा ‘कु’ को निन्दा हुने कुनै पनि शब्द राख्न चीनले रोक्ने ठानिएको छ । महासचिव गुटेरेसले यस विषयमा सुरक्षा परिषद्मा एकता हुने आशा व्यक्त गरेका छन् ।
म्यान्मारको निकट सहयोगी चीनले सैनिक ‘कु’ को विरोध जनाएको छैन । म्यान्मारमा जारी पछिल्लो समस्या सहमतिका आधारमा टुंगो लगाउनुपर्ने चीनको धारणा छ । यसअघि सैन्य ‘कू’ को निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न चीनको अवरोधका कारण संयुक्त राष्ट्रसंघ विफल भएको थियो । मंगलबार बसेको सुरक्षा परिषद्को बैठकमा म्यान्मारका लागि राष्ट्रसंघकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै लोकतन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन् ।
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेतृ आङ सान सूचीलाई नियन्त्रणमा लिएको थियो । म्यान्मारको सेनाले सोमबार नियन्त्रण लिएपछि सूचीको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन । तर उनलाई राजधानी नेइपिडअस्थित उनकै घरमा नजरबन्दमा राखिएको अनुमान छ । म्यान्मारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ । उनीविरुद्ध निर्यातसम्बन्धी कानुन उल्लंघन गरेको तथा गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको अभियोग लगाइएको हो । ती आरोपहरू प्रहरीले अदालतमा पेस गरेको एउटा उजुरीमा उल्लेख गरिएका बीबीसीले जनाएको छ ।
प्रहरीले राजधानी नेइपिडअस्थित सूचीको घर खानतलासी गर्दा सञ्चार उपकरण ‘वाकीटकी’ भेटिएको जनाएको छ । प्रहरीका अनुसार उक्त उपकरण गैरकानुनी रूपमा आयात गरिएको र बिनाअनुमति प्रयोग गरिएको हो ।त्यसैगरी, राष्ट्रपति विन मिन्टलाई राष्ट्रिय विपत् व्यवस्थापन कानुन उल्लंघन गरेको आरोपमा मुद्दा चलाइएको छ ।
यसैबीच, म्यान्मारको सेनाले सामाजिक सञ्जाल फेसबुक बन्द गरेको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनःस्थापनामा बाधा पु¥याएका भन्दै सेनाले फेसबुक बन्द गरेको हो । फेसबुकमा खोलिएको एउटा पेजमार्फत लोकतन्त्र पक्षधरहरूले सोमबारको ‘कु’ विरुद्ध प्रदर्शन तथा ¥यालीको तयारी गरेका थिए ।-Photo: Agency