काठमाडौं, २४ माघ । बैतडीको लवलेक जङ्गलमा किशोरावस्थाकी भागरथी भट्टको शव गत बिहिबार फेला परेपछि देशभर गम्भीर चासो बढेको छ । बुधबार हराएकी उनी भोलिपल्ट खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा बीचमा जङ्गल पर्दछ । उनी एक्लै घर फर्कने क्रममा वेपत्ता भएकी थिइन् । बुधबार अपरान्ह विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । सँगै हिंडेका केटा साथी कपाल काट्न छिरेपछि भागरथी फर्किएकी थिइन् । तर, उनी घर पुगिनन् ।
साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो । दुई महिना अघि मात्र उनको पिताको मृत्यु भएको थियो । घरमा आमा थिइन् । दाजु भारतमा रोजगारीका लागि गएका छन् ।
१७ वर्षीया किशोरीलाई जङ्गलमा एक्लो पाएर उनको अस्मिता लुटेर हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । तर, प्रहरीले यसबारे गहिरो अनुसन्धान गरिरहेकाले खुलाइसकेको छैन ।
हत्यारासम्म पुग्न प्रहरीले घटनास्थलमा प्राप्त प्रमाणहरुको संकलन गरिसकेको छ । मोबाइल फेला परेकाले कल डिटेलहरुका आधारमा पत्ता लगाउने प्रयास गरिरहेको बुझिएको छ ।
भागरथीको को कोसँग सम्पर्क थियो या कोही उनको पछि लागेको थियो त्यसबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरीले धेरै प्रमाणहरु भेटिसकेकाले छिट्टै अपराधी पत्ता लगाउने विश्वास लिएको छ ।
भागरथीयसैगरी, घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडी, प्रदेश प्रहरी देखि सीआइबी पनि सक्रिय भएको छ । घटनामा सोधपुछका लागि ६ जनालाई नियन्त्रणमा लिइएको बुझिएको छ ।