काठमाडौं, २५ माघ । यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाह मौनप्रायः छन् । राजसंस्थाको पक्षमा माहोल तयार गर्न कोरोना भाइरसको महामारीबीच पनि देश दौडाहा गरेको शाह पछिल्लो समय मौनप्रायः बसेका हुन् ।
शाह देशदौडाहामा पनि गए । लकडाउन अघि उनी झापा पुगेर बल्लतल्ल फर्किएका थिए । सीमापारी समेत पुगेका थिए । अहिले उनी गुप्तवास जस्तै बसेका छन् । तर, राजसंस्थाको पक्षमा माहोल बन्दै गएको विश्लेषण हुनथालेको छ । बेबि किङको विषय पनि आएको छ । यसको मुख्य कारण नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष चुलिएर विभाजनमा पुग्नु पनि हो ।
दलहरुको अस्वस्थ प्रतिष्पर्धाले यो व्यवस्थाप्रति नै वितृष्णा जगाएको छ । जसको प्रत्यक्ष लाभ राजावादीले लिइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको सत्तासंघर्षले नेपाल कम्युनिस्ट पार्टी विभाजित मात्र भएन देश गम्भीर राजनीतिक संकटमा परेको छ । ओली पेलेरै जाने र प्रचण्ड मांशाहारी आन्दोलनमा जाने गरी बढेका छन् । यसले अब दृश्य अदृश्य मुठभेडहरु चर्कने निश्चितप्रायः छ । घटनाक्रम यसरी विकसित हुँदैछ कि देशमा नयाँ रक्तपातको खतरा बढेको छ । कुनैबेला एउटै पार्टी बनाएर हात मिलाएका ओली र प्रचण्ड अहिले एक अर्कालाई शत्रु घोषणा गर्दै सुन्ने नसकिने गालीगलौजमा उत्रिएका छन् । कार्यकर्ताहरुलाई लड्न र भिड्न समेत तयार पारेका छन् ।
ओली र प्रचण्डबीचको शक्ति संघर्षले सबैभन्दा फाइदा गणतन्त्रविरोधी पक्षहरुलाई पुगेको छ । यो राजनीतिक प्रणाली नै बेठिक भन्ने सन्देशहरु लगातार प्रवाह भएको छ । यतिसम्मकी गणतन्त्र, संघीयता र धर्मनीरपेक्षले देशमा समस्या ल्याएको दाबी हिन्दुवादी र राजावादीले गरेका छन् । उनीहरुले नेकपा विभाजन पूर्व ठुलै शक्ति प्रदर्शन गरेका थिए । त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर नेकपामा पनि परेको थियो । अहिले नेकपाको ओली समूह हिन्दुराष्ट्र र राजसंस्थाका पक्षधरप्रति लचिलो बनेका छन् । उनीहरु यी दुवै एजेन्डाको विरोध गरिरहेका छैनन् । बरु ओलीले कमल थापासँग निकटता बढाएका छन् । गत हप्ता मात्र थापासँग ओलीले गम्भीर कुराकानी गरे । अहिले हिन्दुवादी र राजावादी ओलीबाट उत्साही भएका छन् ।
ओलीले बितेको दुई हप्ताबीच महत्वपूर्ण दुई कार्य गरे जसले हिन्दुवादीलाई उत्साही बनाएको छ । उनले पशुपतिनाथको संकल्प पूजा गरे । कम्युनिस्ट प्रधानमन्त्रीले पशुपतिनाथको संकल्प पूजा गर्नु सामान्य विषय थिएन । उनले आफू स्वः संस्कृतिको पक्षमा रहेको समेत बताउन पुगे ।
ओलीको पशुपतिनाथको यात्रा आफैमा सन्देशमूलक बन्यो । त्यसलगत्तै चितवन पुगेर अयोध्यापुरीमा राम मन्दिर बनाउने बताए । एक वर्षपछि राम मन्दिरको शिलान्यास गरिने उनको भनाई थियो । ओलीले लगातार यी कदम चालेर हिन्दु राष्ट्रको कदम चाल्नसक्ने आँकलनहरु गर्न थालिएको छ । यो राजसंस्था फर्काउने मार्ग हुनसक्ने विश्लेषण समेत भइरहेका छन् ।-फाइल तस्बिर