Logo

प्रभावकारिता हेर्न दुई अलग खोप मिसाएर परीक्षण गर्दै बेलायत



एजेन्सी, २७ माघ । दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप दिँदा कत्तिको प्रभावकारी हुन्छ भनेर बेलायतमा परीक्षण सुरु गरिएको छ । अहिले मानिसहरूलाई एउटै कम्पनीको खोपको दुई डोज दिने गरिएको छ । तर, कुनै एक कम्पनीबाट भइरहेको खोप आपूर्तिमा व्यवधान उत्पन्न भएमा अर्को कम्पनीको खोप दिन उपयुक्त हुन्छ कि हुँदैन भन्ने सुनिश्चित गर्न यस्तो परीक्षण भइरहेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूले दुई फरक कम्पनीका खोपहरू दिँदा प्रतिरोधक क्षमता अरू राम्रो हुन सक्ने अपेक्षा पनि गरेका छन् । परीक्षणमा अहिलेसम्म कोरोनाविरुद्धको खोप नलिएका उमेर ५० वर्ष वा माथिका ८ सयभन्दा बढी स्वयंसेवकले भाग लिने बीबीसीले जनाएको छ । ती सहभागीले ४ देखि १२ साताको अन्तरमा अस्ट्राजेनेका र फाइजरले विकास गरेका फरक–फरक खोप लिनेछन्।

बेलायतका खोपमन्त्री नधिम जहावीका अनुसार यस अध्ययनका लागि सरकारले करिब ७० लाख पाउन्ड प्रदान गरेको छ । अध्ययनको नतिजा आउन केही महिना लाग्ने भएकाले त्यतिन्जेलसम्म सरकारले कुनै नीति परिवर्तन नगर्ने पनि जहावीले बताएका छन् ।

यसैबीच, बेलायतमा निर्मित अक्सफोर्ड–अस्ट्राजेनेका खोप कोरोना भाइरस संक्रमण घटाउनमा प्रभावकारी बनेको एक अध्ययनले देखाएको छ । खोपको पहिलो डोज मात्रैबाट पनि संक्रमण न्यूनीकरणमा टेवा पुगेको पाइएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनले बेलायतमा अहिले भइरहेको खोप वितरणले भाइरसको संक्रमण घटाउन थालिसकेको देखाएको छ । खोपको एक डोज लिएका मानिसको स्वाब परीक्षणका क्रममा पोजिटिभ पाइने दर ६७ प्रतिशतले घटेको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार खोपको एकमात्र डोजले पनि ३ महिनासम्मका लागि ७६ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ । खोपको प्रभावकारितासम्बन्धी उक्त अध्ययन डिसेम्बर ७ अगावै खोप लिने मानिसमा गरिएकाले भाइरसको नयाँ प्रजातिको हकमा खोपको प्रभाव समान हुनेरनहुने स्पष्ट हुन भने अझै बाँकी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्