काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज काठमाडौंमा बृहत्त जनसभाको आयोजना गर्दैछ । त्यसको लागि काठमाडौंका विभिन्न ठाउँबाट जुलुश तथा विरोध प्रदर्शन सुरु भएका छन् । आजको सभामा अध्यक्षद्धय पुष्पकमल दाहाल, माधव कुमार नेपाल, घनश्याम भुषाल, रामकुमारी झाँक्रीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा दाहाल–नेपाल पक्षले आन्दोलन गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कडा टिप्पणी गरेको भन्दै झाँक्रीको आलोचना भैरहेको छ । उनलाई प्रहरीले पक्राउ गर्न खोजेको भनेर चर्चा समेत चलिरहेको छ । तर, उनी भने आजको विरोध सभाको लागि एउटा जुलुशको नेतृत्व गर्दै ‘हामी यहाँ छौं’ भन्दै अग्रभागमा देखिएकी छिन् ।