समाचार विश्लेषण । भनिन्छ- बोली र गोली फुत्किएपछि फर्कदैन । बोलीले कतिपयलाई सुख दिन्छ त कतिपयलाई दुःख दिन्छ । कविरदासले जिब्रोको बारेमा लेख्दै ‘बोलेर लुक्छ अनि बोल्नेलाई दुःख दिन्छ’ भनेका छन् । सभ्य समाजमा बोलीले धेरै महत्व राख्छ । झुट बोल्दा या नकारात्मक वचनले पद त्याग गर्नुपर्ने वाध्यात्मक अवस्था आउनसक्छ । त्यसमाथि पनि सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुले जथाभावी बोल्दा उक्त पद नै गुमाउनुपर्ने हुनसक्छ ।
जापान त्यस्तो देश हो जहाँ सार्वजनिक पदमा बसेकाहरुको बोलीले निकै अर्थ राख्छ । उनीहरुले हल्का टिप्पणी गर्ने, झुट बोल्ने, भ्रम या अफवाह फैलाउने गतिविधि गरेमा सजाय भोग्नुपर्ने हुन्छ । यतिसम्मकी कसैलाई होच्याएर बोल्दा समेत पद गुमाउनुपर्ने हुनसक्छ । विशेषगरी लिङ्ग, धर्म, वर्ण, वर्ग, रङ्गका आधारमा नकारात्मक टिप्पणी गरेमा ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । चरित्रमाथि नै प्रश्न उठ्छ । नसक्ने कुरा पूरा गर्छु भनेर बोल्दा पनि मूल्य चुकाउनुपर्छ ।
यूरोपका कतिपय देशहरुमा नेताहरुले जनतासामु गरेको प्रतिवद्धता पूरा गर्न नसके नैतिकताका आधारमा पद छाड्नुपर्ने हुनसक्छ । नैतिकताको खडेरी परेका समाजहरुमा भने जस्ले जे बोलेपनि हुने अवस्था बन्छ । जसका कारण अराजकताको अवस्था आउँछ । बोलीको बजन नराख्ने गरी जिम्मेवार पदमा रहेकाहरु प्रस्तुत हुन थाल्छन् ।
जापान भने त्यस्तो देश प्रमाणित भएको छ जहाँ बोलीको बजन नराख्ने सार्वजनिक पद धारण गरेर बसिरहन सक्दैन । त्यस्तै भएको छ जापानका पूर्व प्रधानमन्त्री योशिरो मोरीलाई । टोकियो २०२० ओलम्पिकका प्रमुख मोरीले अभिव्यक्तिकै कारण पद त्याग गर्नुपर्ने भएको छ । उनले महिलाबारे बन्द कोठामा एउटा भनाई राखेका थिए । उक्त भनाई एउटा मिडियाबाट बाहिर आयो । सार्वजनिक रुपमा पनि उनले बोलेका थिएनन् । बन्द कोठामा बोलेको बोलीले उनलाई सार्वजनिक पदमा रहन अयोग्य बनाइदिएको छ ।
गत हप्ता मोरीको सेक्सिस्ट अभिव्यक्ति बाहिर आएपछि उनीमाथि पद छाड्न दबाब परेको छ । ओलम्पिक ट्रष्टको गत हप्ता बसेको बैठकमा मोरीले महिलाहरु धेरै भएको बोर्ड बैठक लामो समय चल्ने बताएका थिए । महिलाहरु बढी प्रतिष्पर्धी हुने उल्लेख गर्दै एकजनाले बोल्नलाई हात उठाएपछि अरुले पनि बोल्नुपर्ने सोच्ने बताएका थिए । उनले भनेका थिए,‘महिलाहरु धेरै भएको बोर्ड बैठकमा समय लाग्छ किन भने उनीहरु एकजनाले बोल्न हात उठाएमा अरुले पनि बोल्नुपर्ने सोच्छन् । यदि महिला सदस्यको संख्या बढाउनेबारे सोचियो भने बैठकको समयावधि तोकिएन भने समस्यामा परिनेछ ।’
८३ वर्षीय मोरीले मिडियामा अभिव्यक्ति बाहिर आएपछि माफी मागेका थिए । तर, उनीमाथि राजीनामाको दबाब बढेको छ । मोरी राजीनामा गर्ने तयारीमा रहेको जापानी मिडियाले जनाएका छन् ।
ओलम्पिक आयोजक कमिटी र कार्यकारी बोर्डका सदस्यहरुले मोरीको अभिव्यक्तिबारे बैठक राखेका छन् । मोरीले यसअघि राजीनामा नदिने बताएपछि सर्वसाधारणले उनको आलोचना गरिरहेका छन् । अब उनी पद त्याग गर्ने वाध्यकारी अवस्थामा पुगेका छन् ।- एजेन्सीको सहयोगमा