माघ ३०, काठमाण्डौ । संसद विघटनपछि दिनहुँ जसो सडकमा विरोध प्रदर्शन भइरहेका छन् । राजनीतिक दल, नागरिक समाज, अभियान्ता, अधिकारकर्मीदेखि स्रस्टा र कलाकारसम्म सडकमा देखिन थालेका छन् । उनीहरुले संविधानको चिन्ता गर्नेदेखि समसायिक विषयमा जनताले पाएका सास्तीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार काठमाण्डौको वसन्तपुरमा भेला भएका स्रस्टाहरुले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कविता बाचन गरेर सरकारलाई दबाब दिएका छन् । कार्यक्रममा सहभागि स्रष्टा तथा कलाकाहरुले सरकारले राम्रो काम गर्न नसक्ने तर आलोचना गर्नेलाई कारबाहीको धम्की दिने गरेकोप्रति असन्तुष्टी जनाएका छन् ।
त्यसैगरी प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध नागरिक समाजका अगुवाहरुले पनि शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने कदम सच्चाउनुपर्ने बताएका थिए । प्रदर्शनमा सहभागीहरुले बिधिको शासन कायम गर, प्राज्ञिक स्वतन्त्रता कायम गर, वलात्कारीलाई कारवाही गर लगाएतका प्लेकार्ड बोकेका थिए । उनीहरुले सरकारलाई गलत बाटोमा नजाने चेतावनी पनि दिए ।
शुक्रबार नै काठमाण्डौको भद्रकालीमा महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा महिला मार्च गरिएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा भएको कार्यक्रममा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो । महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्याली गरेका थिए । मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए ।