काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल केरूङ नाकामा आयात–निर्यात सहजा तुल्याउन माग गरेको छ । र, उसले यसको लागि तत्कालै पहलका लागि सरकारसमक्ष माग पनि गरेको छ । कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो । तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुंदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ ।’
विज्ञप्तीमा थप भनिएको छ,‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ । यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ । अतः चीनिया पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’