Logo

पार्टीको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने दाहाल–पक्षका पोखरेलको अडान



काठमाडौ., २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले पार्टीको विवाद हल नगरी चुनाव अघि बढ्न नसक्ने अडान राखेका छन् । निर्वाचन आयोगले आज छलफलको लागि नेताहरुलाई बोलाएको थियो । उक्त छलफलमा सहभागी दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले यस्तो अडान राखेका हुन् । उनले भने,‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ? नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ गते र वैशाख २७ गते निर्वाचन गर्ने मिति घोषणा गरेका छन् । र, आयोगलाई निर्वाचनको तयारीमा जुट्नसमेत आग्रह गरिसकेका छन् । केही दिन पहिलेमात्रै ओली निर्वाचनको तयारी बुझ्नको लागि आयोगको कार्यालय पुगेका थिए । आज आयोगले निर्वाचन आचारसंहिताबारे दलका प्रतिनिधिहरूसँग छलफल गरेको हो। आयोगमा नेकपाबाट ओली समूहका नेता बाबुराम शर्मा दाहाल र प्रचण्ड–नेपालबाट पोखरेल सहभागी छन् भने कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन्। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्