अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग पारित गर्न आवश्यक मत जुटाउन असफल भएको छ ।
रिपब्लिकन दलका ७ जनासहित बहुमत सिनेटहरू महाअभियोगका पक्षमा रहेका भए पनि प्रस्ताव पारित हुन १० मत अपुग भएको हो । सिनेटमा भएको मतदानमा महाअभियोगका पक्षमा ५७ र विपक्षमा ४३ सिनेटर उभिएका हुन् ।ट्रम्पविरुद्धको महाअभियोग पारित हुनका लागि ६७ मत आवश्यक पर्थ्यो । माथिल्लो सदन सिनेटमा दुवै दलका ५०/५० सदस्य छन् । पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनले यसअघि नै महाअभियोग पारित गरिसकेको थियो । तल्लो सदनमा डेमोक्रेटको बहुमत रहेको छ ।अमेरिकी संसद् भवनमा भएको आक्रमणका लागि ट्रम्पले ‘आफ्ना समर्थकलाई उक्साएको’ भन्दै उनीमाथि महाअभियोग लगाइएको थियो । यो ट्रम्पविरुद्ध लगाइएको दोस्रो महाअभियोग थियो । ट्रम्प समर्थकले जनवरी ६ मा वासिंटनस्थित क्यापिटल हिल भवनमा आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थले क्यापिटल हिलमा आक्रमण गरेका थिए ।
ट्रम्प समर्थकको आक्रमणका क्रममा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरू भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना लामो अनुसन्धानपछि आक्रमणमा संलग्न रहेको आरोपमा २२१ जनाविरुद्ध मुद्दा चलाइएको अधिकारीहरूले जनाएका छन् । पूर्वराष्ट्रपति ट्रम्प भने सुनुवाइमा अनुपस्थित भएका थिए ।
अभियोगमुक्त भएपछि पूर्वराष्ट्रपति ट्रम्पले महाअभियोग सुनुवाइ ‘इतिहासकै सबैभन्दा नराम्रो कारबाही’ भएको बताएका छन् । उनीविरुद्धको महाअभियोग पारित भएको भए सिनेटले उनलाई राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्न रोक्न सक्ने व्यवस्था रहेको थियो ।मतदानपछि सिनेटमा रिपब्लिकन दलका वरिष्ठ सदस्य मिच मककोनेलले ‘ट्रम्प क्यापिटल भवनमा भएको हमलाका लागि जिम्मेवार’ भएको जनाउँदै उक्त कदम जिम्मेवारीको निकै घिनलाग्दो अवमूल्यन’ भएको बताए । त्यसअघि उनले महाअभियोगको विरुद्धमा मत दिएका थिए ।
ट्रम्प हाल राष्ट्रपति नरहेका कारण उनीमाथि महाअभियोग लगाउने काम असंवैधानिक हुने उनको दाबी थियो । ट्रम्पको महाअभियोग सुनुवाइ उनको कार्यकाल सकिएको समय अर्थात् जनवरी २० सम्म ढिलो गराउनमा मककोनेलको उल्लेख्य भूमिका छ । यद्यपि उनले ट्रम्प अझै अदालतमा जिम्मेवार ठहर्याइन सक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि महाअभियोग सुनुवाइका क्रममा ट्रम्पका वकिलहरूले उनीविरुद्ध डेमोक्रेटिक दलले ‘बदलाको अभियान चलाइएको’ आरोप लगाएका थिए । संसद् आक्रमणका लागि समर्थकहरूलाई उक्साएको आरोप खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्ति अमेरिकी संविधान अनुकूल रहेको दाबी गरेका थिए । त्यसका साथै डेमोक्रेटिक दलका सिनेटरहरूले ट्रम्पमाथि लगाएका आरोप ‘भयानक झुट’ भएको उनीहरूको दाबी थियो ।-कान्तिपुरबाट