मारिया मन्टेसरी : आजसम्म अधिकांश वयस्कले शिशुको शरीरलाई एउटा सानो वनस्पतिजस्तै ठाने, जसको शारीरिक हेरचाह मात्र गरे पुग्छ । हामीले शिशुको शरीरको हेरचाह पनि अपुरो गर्यौं । वयस्कले शिशुको शारीरिक विकाससँगै मानसिक विकासमा पनि ध्यान दिनुपर्छ । शिशुलाई आफ्नो स्वरुप धारण गराउन प्रकृतिले नै सहयोग गरे पनि प्राकृतिक स्वरुप धारण गराउने प्रक्रियाको वयस्कले सम्मान गर्नुपर्छ । शिशुले आफ्नो प्राकृतिक स्वरुप सहजै धारण गर्न सक्ने वातावरण तयार पार्ने काम वयस्कको हो । आमाले आफ्नो पेटमा भ्रूणका लागि वातावरण तयार पारेजस्तै शिशुको मानसिक जीवनका लागि वयस्कले वातावरण तयार पार्नुपर्छ ।
जीवनको पहिलो वर्षमा शरीरका अंग सञ्चालनको प्रक्रिया निकै तीव्र गतिमा चल्छ । पहिलो वर्षमा शिशुलाई अंग सञ्चालनमा बाधा पुग्ने गरी राख्नु भएन । उसलाई कसिलो लुगाले ढाक्नु भएन । जीवन्तताको पहिलो स्वरुप अनुभूतिजन्य हुन्छ । उदाहरणका लागि शिशुलाई जब केही चाहिन्छ, तब उसले आफूलाई चाहिएको वस्तुमा शरीर राख्छ । र, बिस्तारै आफ्नो हात अगाडि बढाउँछ । जीवन्तताको यस्तो अनुभूति लिनबाट शिशुलाई वञ्चित गर्नु भएन ।
चार महिनासम्मको शिशुले बोलिरहेको मान्छेको मुखमा एकटकले हेर्छ । त्यसको अर्थ ऊ आफ्ना वरिपरिका घटनाक्रमसँग परिचित हुन चाहन्छ भन्ने हो । छ महिना पुग्दा नपुग्दै शिशु बोल्ने प्रयास गर्छ । यो बोल्ने प्रयास उसले चार महिनाको हुँदाखेरि नै बोलिरहेका मानिसका ध्वनि सुनेर उनीहरुको अनुहारको भाव हेरेर सिक्न थालेको हुन्छ । यस्तो समयमा शिशुको यो सिर्जनात्मक सिकाइ(परिश्रममा कसैगरी बाधा पुग्यो भने त्यसको असर जीवनकालभर रहन्छ ।
धेरै जान्ने भएर शिशुको मानसिक जीवनमा बाधा पुर्याउनु भन्दा शिशुको विकासक्रमको अवलोकनकर्ता भएर बस्नु वयस्कका लागि उत्तम हुन्छ । अवलोकन गर्न कुनै असाधारण क्षमता आवश्यक पर्दैन । शिशुको मानसिक जीवन अवलोकन गर्न शिशुभित्र लुकेको मनका लागि वयस्कले आफ्नो मन सहायक मात्र बनाए पुग्छ । यति गरेपछि सामान्य सुझबुझले पनि हामी शिशुको मानसिक जीवनको अनुगमन गर्न सक्छौं ।
उदाहरणका लागि शिशु बस्न सक्दैन । त्यसैले ऊ सधैं पल्टिरहन्छ । यसकारण उसको पहिलो सम्बन्ध पृथ्वीसँग नभई आकाशसँग जोडिन्छ । तर, यथार्थमा हामी उसलाई आकाश देख्न दिदैनौं । यसको सट्टा उसले हाम्रो कोठाको छत देख्छ । अथवा उसलाई राखिने टोकरी शैलीको गाडीको छत मात्र देख्छ । यसरी सुरुवातमै हामी उसको परिधि साँघुरो बनाउँछौं । आकाश हेर्न छटपटिरहेको उसको मनको हामीलाई ख्यालै हुँदैन ।
कतिपय मानिस शिशुले देखोस्(हेरोस् र पुलकित होओस् भनेर उसका अगाडि खेलौना र अन्य विभिन्न सामग्री राख्छन् । यस्ता अप्राकृतिक वस्तुले उसलाई प्राकृतिक सम्बन्ध निर्माणमा बाध उत्पन्न गर्छन् । उसलाई जीवन्त, प्राकृतिक दृश्यको सट्टा हामी कृत्रिम दृश्य देखाउँछौं । खेलौना र अन्य वस्तुको बदलामा शिशुलाई खुला आकाश(बगैंचामा राख्नु उपयुक्त हुन्छ । जहाँबाट उसले जीवन्त दृश्य देख्न सक्छ ।
भर्खरै जीवनको सुरुवात गरिरहेको सानो शिशुलाई कृत्रिम दृश्य देखाउनु उसको जीवनलाई नै कृत्रिम बनाउनु सरह हो । सधैं जीवन्त दृश्य देखेको शिशुले जीवन्तता र कृत्रिमताबीचको भेद छुट्याउन सक्छ । उसले आफूजस्तै साना जीवन देख्छ । आफूभन्दा स–साना अन्य जीवन पनि देख्छ । जीवन नै जीवनको सहायक हो ।