Logo

प्रेमीसँग मिलेर सातजनाको हत्या गरेकी आमालाई फाँसीबाट जोगाउन छोराले राष्ट्रपतिलाई गरे अपिल (भिडियोसहित)



एजेन्सी, ७ फागुन । उनी अविवाहित आमाको गर्भमै थिए । उनकी आमाले प्रेमीसँग मिलेर परिवारका सातजनाको सामूहिक हत्या गरिन् । हत्याको अभियोगमा आमा जेलमै रहँदा उनको जन्म भयो । ६ वर्ष जेलमै हुर्के बढे । त्यसपछि आमाको साथीले उनको पालनपोषण गरिन् । उनी त्यो छोरा हुन् जसको आमालाई भारतको उत्तर प्रदेशमा फाँसी दिन लागिएका छ ।

३८ वर्षीया सबनम अलीको छोरा ताज अहिले १२ वर्षका भए । उनले ६ वर्ष आमासँगै जेलमा हुर्कन पाए । त्यसपछि जेलको नियमानुसार बाहिर बस्न वाध्य भए ।

आमालाई फाँसी दिने निश्चितप्रायः भएपछि सबनमका छोरा ताजले सामाजिक सञ्जालमा प्लेकार्ड लिएर आममाफीको विन्ति गरिरहेको भिडियो बाहिरिएको छ । ताजले प्लेकार्डमा अंग्रेजी र हिन्दी दुवै भाषामा लखेका छन्,‘राष्ट्रपति अंकलजी मेरो आमा सबनमको माफ गरिदिनुहोस् ।’

‘प्रेमपागल’ भएर परिवारका सातजनाको हत्या गर्दा सबनम पुग्दैछिन् फाँसीको फन्दामा

ताजले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफूले आमालाई माफी दिन राष्ट्रपतिसँग अनुरोध गरेको बताए । उनले आमाले निकै माया गर्ने र भेट्दा अंकमाल गर्ने गरेको सुनाए । उनले भने,‘जब आमासँग भेट्छु मेरो पढाईका बारेमा सोध्नुहुन्छ । इमान्दार र असल बन्नु भन्नुहुन्छ ।’

आमालाई फाँसी दिइने खबरहरु बाहिरिएपछि ताज निकै रोएको बुझिएको छ । उनी चिन्तामा डुबेका छन् । ताज सन् २००८ को डिसेम्बरमा मोरादावाद जेलमा जन्मिएका थिए । ६ वर्षको उमेरमा जेलमा रहेकी आमा सबनमबाट छुटेका थिए । ताजलाई सबनमकी कलेजकी साथी सैफीले पालनपोषण गर्ने गरी लगेकी थिइन् । सम्पन्न परिवारकी सबनमले सैफीलाई कलेज पढ्दा निकै आर्थिक सहयोग गरेर गुन लगाएकी थिइन् । त्यसैले उनले ताजलाई हुर्काउने जिम्मा लिइन् ।
ताजलाई पुख्र्यौली घर नलाने र नाम पनि परिवर्तन गर्ने अनुरोध सबनमले गरेकी थिइन् । ताज प्रत्येक ३ महिनामा भेट्न जेल नै पुग्ने गरेका छन् ।
३८ वर्षीया सबनम उनै हुन् जसलाई फाँसीको तयारी भएको छ । मथुरा जिल्लाको जेलमा भारत स्वतन्त्र भएपछि पहिलोपटक कुनै महिलालाई फाँसी दिइँदैछ । सबनम अंग्रेजी र भूगोल गरी दुई वटा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । उनी हसनपुर गाउँकै सबैभन्दा बढी औपचारिक शिक्षा हासिल गरेकीमा थिइन् । प्राथमिक विद्यालयमा शिक्षिका थिइन् । उनको परिवार नै शिक्षित थियो । बाबु कलेजका शिक्षक थिए । दाजुभाई पनि शिक्षित थिए । गाउँमा उनीहरुको ३० बिगाहाभन्दा बढी जमिन थियो ।

पढाईमा तेज सबनम सालिन पनि थिइन् । तर, उनी घर नजिकै काठ चिरानीमा काम गर्ने सलिमको प्रेममा पागल भइन् । दुवै प्रेममा यति गहिरिएकी शारीरिक सम्बन्ध राखे । सबनमको पेटमा सलिमको भ्रुण हुकँदै थियो । जसलाई उनले जेलमै जन्म दिइन् । सबनम सलिमसँग विवाह गर्न चाहन्थिइन् । त्यसले परिवारमा तनाव बढाएको थियो । यही तनाबका कारण उनी परिवार नै सखाप पार्ने योजनामा पुगिन् ।

सबनमले १४ र १५ अप्रिलको २००८ मा उत्तर प्रदेशको बावानखेदी गाउँमा परिवारका सात सदस्यको सामूहिक हत्या गरेकी थिइन् । हत्याको समयमा सबनम २५ वर्षकी थिइन् । कम पढेको र आर्थिक हिसाबले पनि सबनमको परिवारभन्दा कमजोर रहेकाले परिवारले विवाह गर्न दिइरहेको थिएन । जसका कारण उनीहरुको घरमा धेरै तनाव थियो । यही विवाद बढ्दै जाँदा सबनमले सलिमसँग मिलेर क्रुरतापूर्वक हत्या गरिन् । त्यो पनि आफ्नै परिवारका सात सदस्यको ।

सबनमले ५० वर्षीया आमा हस्मी अली, ५५ वर्षीय बाबु सौकत अली, ३५ वर्षीय दाजु अनिज, २५ वर्षीया भाउजु अन्जुम, २२ वर्षीय भाई रसिद, १४ वर्षीया बहिनी पर्ने रबिया र १० महिनाका भतिजा वर्षको हत्या पुष्टि भएको थियो । परिवारका सदस्यलाई दुधमा बेहोस हुने औषधी मिसाएर पिलाएपछि प्रेमी सलिमको सहायताले घाँटी रेटेर हत्या गरेकी थिइन् ।

१३ वर्ष अघिको यो घटनाको सुनुवाई गर्दै उत्तर प्रदेशको अमरोहा अदालतले फाँसीको सजाय सुनाएको थियो ।

११ वर्षबीच सबनम उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगिन् । उनी मृत्युदण्डको आममाफीका लागि राष्ट्रपतिसमक्ष निवेदन दिन पुगिन् । तर, सबैबाट अस्वीकृत भयो । अब उनलाई झुण्ड्याएर फाँसी दिइने भएको छ ।



प्रतिक्रिया दिनुहोस्