काठमाडौं, ८ फागुन । राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु नै असन्तुष्ट भएका छन् । ओली समूहका मधेशमा प्रभाव बनाएका नेताहरुले यसप्रति असन्तुष्टि राखेका हुन् ।
ओली समूहमा रहेका स्थायी कमिटी सदस्यहरु रघुवीर महासेठ र सत्यनारायण मण्डल दुवै झाको नियुक्तिप्रति असन्तुष्ट छन् । उनीहरुले झाको नियुक्तिले नेकपालाई मधेशमा ठुलो नोक्शानी पर्ने भन्दै असन्तुष्टि पोखेको बुझिएको छ ।
झा संघीयताको आलोचक हुन् । उनी ओलीकै शैलीमा राष्ट्रवादी विचार राख्दै आएका छन् । जातीय राजनीति देखि आरक्षणको समेत आलोचक हुन् । मधेश केन्द्रित नेताहरुको झाले आलोचना गर्दै आएका थिए ।
यसैगरी, तिलक परियारलाई प्रदेश २ को प्रदेश प्रमुखबाट हटाइएकोमा ओली समूहका प्रभावशाली नेता रामबहादुर थापा बादल असन्तुष्ट भएका छन् । परियार बादलसँग नजिक रहँदै आएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी थिइन् । राजेश झा राजेश अहिराजका नामले परिचित छन् । पेशाले पत्रकार उनी मधेशबाट पृथक धारको बहस चलाउँदै आएकामा पर्छन् । झाको स्थायी घर रौतहट हो ।