Logo

श्वेता खड्कालाई ५ करोडको बात !



रिपोर्टर्स नेपाल संवाददाता : काठमाडौँ । २०७२ वैशाख १२ को विनाशकारी भुइँचालोले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ स्थित इन्द्रावती नदी किनाराको माझी बस्ती भीमटार भताभुंग भयो । ५३ घरधुरी टहरामा आश्रय लिन बाध्य भयो । भूकम्प पुनर्निर्माण प्राधिकरणबाट प्रत्येक घरधुरीले पहिलो किस्तास्वरुप ५० हजार त बुझे । तर दुई हिउँद बित्दा पनि घर ठड्याउन सकेनन् ।

त्यतिबेला मेलम्चीको गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले एकीकृत नमुना बस्ती निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेको थियो । उसले थप ३ ठाउँमा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर चितवनमा क्रिकेट रंगशाला बनाउने योजना बनाइसकेको थियो ।

माझी बस्तीका ३ सय २२ जनाको चिल्लीबिल्ली देखेर हो या धुर्मुस–सुन्तलीको वाहवाही देखेर अभिनेत्री श्वेता खड्काले पनि एकीकृत माझी बस्ती निर्माणको अठोट गरिन्, ‘शुभकार्य श्रीगणेशको नामबाट गरिन्छ, श्रीकृष्ण श्रेष्ठको नाममा समर्पित गर्दछु, इन्द्रावती किनारका माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गर्दछु ।’

भूकम्पमा ढलेको बस्तीलाई उठाउने श्वेताको संकल्पको जताततै हाईहाई हुने नै भयो । यसो हुनुको अर्को कारण थियो- श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग लगनगाँठो कसेको महिनादिन नपुग्दै खप्नुपरेको पति वियोगको पीडा । सिन्धुपाल्चोक उनका दिवंगत पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मजिल्ला पनि हो ।

अझ २०७४ जेठ १५ मा एकीकृत बस्तीको शिलान्यास भएपछि यस्तो लाग्थ्यो, अभिनेत्री श्वेताजस्तो महामना कोही छैन । उनीजस्तो समाजसेवी पनि कोही जन्मेको छैन । वास्तवमा उनी श्वेता–श्री फाउन्डेसनमार्फत सहयोगी हातहरु जुटाएर माझी बस्ती निर्माण अघि बढाउने पक्षमा थिइन् । तर एकोहोरो महिमामण्डन भयो श्वेताको मात्रै । त्यसलाई उनले आँखा चिम्लिएर मन पराइन् ।

श्वेताले माझी बस्ती निर्माणार्थ आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत विभिन्न संघसंस्था एवं देश र विदेशका नेपालीलाई गुहारिन् । त्यसमा हातेमालो गर्नेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय, विभिन्न बैंकिङ संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिहरु देखिए । तर चार वर्षसम्म पनि घर निर्माण सम्पन्न हुन सकेन र माझी समुदायको अनुहारमा खुसी पनि उदाउन सकेन ।

श्वेताले बस्तीका ९५ प्रतिशत घर निर्माण सकिएको दाबी गरिरहँदा माझी बस्तीका बासिन्दाको एकमुष्ट गुनासो सुनियो, ‘माझी बस्ती श्वेताले होइन, हामीले नै सरकारी सहयोग र ऋणपान गरेर बनाएका हौँ । हाम्रो थाप्लोमा चार लाख रूपैयाँ ऋण छ ।’

श्वेताले माझीबस्तीको डिजाइन मात्र गरेकी हुन् र कुनै आर्थिक सहयोग गरेकी होइनन् भन्नेसम्मका प्रतिक्रिया आउनु आफैँमा उदेकलाग्दो हो । यसले श्वेताप्रति अविश्वास र नैतिक संकट मात्र आएन, सामाजिक सञ्जालमा निन्दाको वर्षा पनि भइरहेको छ । र, बस्ती निर्माणका काम अलपत्र परेका मात्र छैनन्, दाताहरु समेत हच्केका छन् । शृंखलाबद्ध विवाद सुरु भएपछि श्वेता भनिरहेकी छन्, ‘माझी बस्ती निर्माणको अगुवाइमात्र श्वेता–श्री फाउन्डेसनले गरेको हो । यो मेरो पेवा होइन । सबै दाताहरुको साझा प्रोजेक्ट हो ।’ विडम्बना के भने उनले पहिले हाईहाई स्वीकारिन् । तर अहिले विवाद सुरु भएपछि सबैको थाप्लोमा राखेर सरक्क पन्छिन खोजिरहेकी छन् ।

अहिले न बस्ती हस्तान्तरण भएको छ, न त वाचा अनुसार श्वेता–श्री फाउन्डेसनले बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउन्टेन, सेफ्टी ट्यांकी आदि पूर्वाधार नै बनाइसकेको छ । बरु ६३ घर (पछि थपिएको समेत) को बस्ती नै पक्ष र विपक्षमा बाँडिएको छ । अन्जान राजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनतालाई भ्रम मात्र । तीन लाख सरकारी अनुदान अनि लक्ष्मी बैंकमा चार लाख ऋण । अर्को कुरा त्यो घरलाई सात लाख त पर्दै पर्दैन । म लेखेर दिन्छु । फाउन्डेसनले उठाएको चन्दाको हिसाबकिताब क्लियर दिनुपर्छ जनतालाई ।’ हर्क लामिछानेले कटाक्ष गरेका छन्, ‘समाजसेवा गर्ने हो भनी अरुसँग भिख मागेर होइन, आफ्नो पैसाले बनाऊ, अरुको पैसामा नाम कमाउने होइन ।’

श्वेताका शब्दमा यो ९ करोडको परियोजना हो । उनले व्यक्तिगत ३२ लाख रुपैयाँ खर्च गरेर काम थालनी गरेको र कान्छी सिनेमाको नाफा १२–१३ लाखसहित एक करोड बराबर लगानी गरेको सार्वजनिक अभिव्यक्ति दिइरहेकी छन्, ‘मलाई गलत सावित गर्न अनेक लान्छना लगाई केही मानिस बस्ती निर्माणको अभियानविरुद्ध लागेका छन् । दाता र प्रशंसकबीच भ्रम फैलाउन खोजेका छन् । मलाई नखाएको विष लागेको छ । मैले त हात जोडेर बस्ती निर्माणको अगुवाइ गरिदिनुपर्यो भनेपछि मात्र सकारेकी हुँ । कतिपय दाताले बोले तर पैसा दिएनन् ।’

प्रेस विज्ञप्तिका नाममा श्वेता आफै आफ्नै समाजसेवी मुखौटा उदांगो पार्न पछि परिनन् । उनले भनेकी छन्, ‘माझी परिवारले ४ लाख ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मूल्य बढेको नदेख्नु विडम्बनापूर्ण छ । बस्ती निर्माणपूर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मूल्य अहिले ९० हजार पुगेको छ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरु छन् ।’

हास्यास्पद त के भने माझीकै परिवार समेत नअटाउने तीनकोठे घरमा होमस्टेको परिकल्पना गरेकी रहिछन् श्वेताले । बैंकको ऋण होम स्टेकै आम्दानीबाट तिर्न सकिने उनको दाबी छ । बस्ती निर्माण पूर्व नै आठ वटा घरको डिजाइनमध्येबाट स्थानीयवासी नै रोजेकाले घर साँघुरो भएको भन्न नमिल्ने जिकिर पनि उनको छ ।

श्वेताको दाबी अनुसार घर निर्माणका लागि प्राविधिकहरुले तयार गरेको अनुमानित लागत ८ लाख २५ हजार थियो । केही दाताले ढोकालगायत जस्तापाता सहयोग गर्ने प्रतिबद्धता दिए अनुरुप सो सामग्रीको मूल्य कटाएर ७ लाखमा बनाउन सकिन्छ भनी अन्तिम लागत निर्धारण स्थानीयवासीले नै गरेका हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो । सरकारी अनुदानबाहेक अन्य नपुग रकम ४ लाख ऋणस्वरुप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै हो । सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न पाउँदैनन् ।

अहिले माझी घरपरिवारले नमुना बस्ती निर्माणको जस दिनुभन्दा पनि श्वेतामाथि उल्टै ५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । श्वेताले एकीकृत बस्ती निर्माणका लागि कति सहयोग रकम जुट्यो र त्यो कसरी खर्च भयो भन्ने कुरा पारदर्शी रुपमा नखुलाएकाले माझी बस्तीले आशंकाको दृष्टिले हेरेको छ ।

स्थानीय सीताराम माझीका अनुसार ऋण श्वेता–श्री फाउन्डेनले मिलाइदिएको हो, तिर्नुपर्ने चाहिँ आफैँले हो । मिडियामा नाम चाहिँ श्वेता खड्काको आइरह्यो । बरु नक्सा पास र डिजाइनहरू गरे पनि आर्थिक पाटोमा फाउन्डेसनले कुनै सहयोग गरेको छैन । प्रत्येक घरलाई महिनावारी ७ हजार रूपैयाँका दरले ऋणको किस्ता तिर्न मुस्किल भइरहेको छ । फाउन्डेसनका तर्फबाट एकजना इन्जिनियर उपलब्ध गराइ पनि अरू काम नेपाल सरकारबाटै भइरहेको छ ।

श्वेताले सुरुमा ६० लाख रूपैयाँ सहयोग गरे पनि उक्त रकम माझी बस्तीले सरकारी सहयोग पाएपछि उपभोक्ता समितिलाई फिर्ता गर्ने सर्त रहेको नगरपालिका उपप्रमुख जानुका पराजुलीको दाबी छ । त्यसो त व्यवसायी छविकी श्वेताले भ्रष्टाचारको आरोप लगाउनेहरुलाई चुनौती दिएकी छन्, ‘त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालोमोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’

पहिले रातारात हिरो बनाइएकी श्वेता अहिले ‘जिरो’ बनाइनुको एउटा मनोवैज्ञानिक कारण उनले गत मंसिर २२ मा आफूभन्दा कान्छा प्रेमी विजयेन्द्रसिंह रावतसँग गरेको अर्को बिहे पनि हुन सक्छ । बिहेमा दुई-दुई पटक भोजभतेर गर्ने, नाइटक्लब धाउने तर माझी बस्तीका लागि अरूसँग चन्दा याचना गरेको भन्दै सामाजिक सञ्जालमा श्वेताको चर्को आलोचना भइरहेको छ । आक्रोश त्यतिबेला चुलियो, जतिबेला उनले चितवनमा क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनकै शैलीमा माझी बस्ती निर्माणार्थ माघ २० मा आर्थिक सहयोग गर्न फेरि अपिल गरिन् । अहिले सामाजिक सञ्जालमा तातो प्रश्न उठेको छ- श्वेता खड्काले पाँच करोड हिनामिना गरेकै हुन् त ?

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्