Logo

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस



काठमाडौं, फागुन १२। प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य कदम भन्दै अदालतले लिएको संसद् पुनस्र्थापनाको निर्णयलाई कांग्रेसले स्वागत गर्ने बताए ।

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ, कांग्रेस प्रतिनिधि सभा पुनस्र्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्छ,’ देउवाले संसद् पुनस्र्थापनाको फैसलापछि विज्ञप्ति जारी गर्दै भनेका छन् ।

देउवाले विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेकासमेत प्रस्ट पारेका छन् ।

यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत संसद् पुनस्र्थापना गर्ने अदालतको निर्णयलाई स्वागत गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने नभए अविश्वासको प्रस्ताव अघि बढाएर हटाइने बताए ।

‘संसद् पुनस्र्थापनाको निर्णयको स्वागत गर्छु अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ होइन भने अविश्वासको प्रस्तावबाट हटाउँछौं,’ पौडेलले भने । यसैगरी नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्चको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्