Logo

अब के होला?



काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मोत्सव मनाउँदै थिए। बालबालिकासँग आफ्नो जन्मदिन मनाउन बालमिन्दर पनि पुगे, प्रधानमन्त्री ओली। ओलीले दिनभरजसो पारिवारिक सदस्य, मन्त्री र निकट नेताहरूका साथमा विभिन्न चरणमा जन्मदिन मनाए।

सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिँदा पनि ओलीले आफ्नो जन्मदिनका कार्यक्रम रोकेनन्। ओलीले पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’विमोचन पनि गरे। कार्यक्रममा सम्बोधन भने गरेनन्। प्रधानमन्त्रीपत्नी राधिकाले छोटो मन्तव्य राखिन्।

ओली कहिले मोबाइलमा आँखा दौडाउँथे त कहिले सहभागीतिर गहिरो गरी हेर्थे। अबेरसम्म जन्मदिनकै शुभकामना लिँदै गरेका ओलीले राति भने निकट नेताहरूसँग राजनीतिक घटनाक्रमबारे केही कुराकानी गरे।

ओलीले अदालतको फैसलाअघि आफू नेतृत्वको नेकपानिकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै निर्धारित मितिमा निर्वाचन हुने बताएका थिए। प्रतिनिधिसभा पुनःस्थापना भए अस्थिरता आउने, पुष्पकमल दाहाल (प्रचण्ड)–माधवकुमार नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्दै हिँड्ने, प्रधानमन्त्री भइदिनुस् भनेर कहिले उत्तर, कहिले दक्षिणतिर जाने र खोजेर हिँड्दाहिँड्दै आफूकहाँ आइपुग्न वेर नलाग्ने उनको भनाइ थियो।

नेकपाकै अर्को खेमाका अध्यक्षद्वय दाहाल र नेपाल भने मंगलबार चितवन पुगेका थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्