Logo

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न, यी हुन निर्णयहरु



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। पार्टीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको उन्नतता र सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रविन्दुमा राखेर सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्ने निश्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केपी ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर आफूहरुले भनेको उनले सुनाए । अदालतको फैसलाअनुसार प्रतिनिधिसभाको बैठक बस्ने र संविधानअनुसार नै अरु प्रक्रिया अघि बढ्ने उनले सुनाए । उनले पार्टी एकताको पक्षमा आफूहरु सधैं रहेको पनि स्पष्ट पारे । तर, ओलीले गुटबादी प्रवृत्ति अघि बढाएको उनको टिप्पणी छ ।

उनले भने,‘पार्टी एकतालाई चोईट्याउने, संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने प्रवृत्ति, आत्मालोचना गर्ने कुरा हुनुपर्छ । जुन व्यक्ति प्रवृत्तिले पार्टी एकता, लोकतन्त्र र संविधानमाथि प्रहार भयो । आत्मालोचनासहितको सुधार देखिनुपर्छ । अदालतले आदेश दिईसकेपछि पनि राजीनामा दिने काम भएको छैन् ।’ आफूहरु हिजोपनि पार्टी एकताकै पक्षमा रहेको उनले सुनाए ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए र गल्ती गरेको भने एकता हुने उनले सुनाए । प्रतिगमनविरुद्ध आन्दोलन गर्न चाहेकै भन्दै उनले संसद पूनःस्थापना भएपछि कसरी अघि बढ्ने ? भनेर कांग्रेससँग छलफल गरेको सुनाए ।  अहिले आफूहरुले फलानोलाई प्रधानमन्त्री बनाउने वा आफू बन्ने भनेर अहिले मापदण्ड नबनाएको श्रेष्ठको भनाई छ । अविश्वासको प्रस्तावबारे नयाँ ढंगले सोचिरहेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्