काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रवक्ता श्रेष्ठले यस्तो धारणा राखेका हुन् ।
:
उनले आफूहरु अहिले नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे गम्भीर छलफलको संवेदनशील मोडमा रहेको पनि उल्लेख गरेका छन् । श्रेष्ठले लेखेका छन् -:”सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं ।सञ्चार माध्यमका आ-आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं ।त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन ।तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।”