राती राम्ररी निद्रा पर्यो भने अर्को दिन ताजा महसुस हुन्छ । तर निद्रा नपर्दाको अर्को दिन जीउमा थकान महसुस हुन्छ र जाँगर पनि चल्दैन । लगातार रातमा निद्रा नपर्ने हो भने मान्छे बिरामी हुन पनि बेर लाग्दैन ।
वास्तवमा निद्रा नलाग्ने पनि एउटा रोग नै हो र रोगको कारक पनि । निद्राको महत्त्व केवल मुडलाई राम्रो बनाउन तथा आँखाको तल्लो भागमा छाला कालो हुने समस्यालाई हटाउन मात्र होइन, पर्याप्त निद्रा स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण हिस्सा पनि हो । पर्याप्त निद्रा स्वस्थ हृदय, सन्तुलित वजन तथा शान्त मनका लागि अनिवार्य हुन्छ ।
पर्याप्त निद्रा पर्ने मानिसको स्मरण शक्तिमा पनि सुधार हुन्छ । त्यसकारण स्मरण शक्तिमा बढोत्तरी गर्न पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ । कम सुत्ने मानिसमा स्मरण शक्ति कमजोर हुन्छ । पर्याप्त निद्रा लिने मानिसको आयु पनि बढ्छ । कम निद्रा वा आवश्यकताभन्दा कम निद्रा स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुई वर्षअघि भएको एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार दिनमा ५ घण्टाभन्दा कम सुत्ने मानिस पर्याप्त सुत्ने मानिसभन्दा कम बाँच्छन् ।
६ घण्टाभन्दा पनि कम सुत्ने मानिसमा जीउका विभिन्न भागमा पोल्ने तथा सुजनलगायतका समस्या पैदा हुन्छन् । यसले मधुमेह, हृदयाघात तथा छिटै बुढ्यौलीका लक्षण देखिनेलगायतका समस्या उत्पन्न गर्छ । Photo Source: GETTY – STOCK PHOTO