Logo

प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति आक्रोश पोखेकी छिन् । उनले नेपाललाई प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति असंवेदनशील तरिकाले प्रस्तुत भएको भन्दै आक्रोश पोखेकी हुन् । स्वास्थ्यको विषयलाई लिएर महाधिवेशनको बेलामा माधव नेपाल आक्रामक तरिकाले उत्रिएको भन्दै शाक्यले असन्तुष्टि पोखेकी छिन् ।

हालै प्रकाशित पुस्तक ‘मेरा अनुभूति’ मार्फत् राधिकाले माधव नेपालको स्वभावबारे समेत टिप्पणी गरेकी छिन् । उनले माधव नेपाललाई चाकरी गर्नेलाई अवसर दिलाउने र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने शैलीको भएको टिप्पणी गरेकी हुन् ।

माधव नेपाल निकट नेता जगन्नाथ खटिवडाले टेलिभिजन अन्तवार्तामै केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा नेतृत्व दिन नहुने बोलेको भन्दै पुस्तकमा आलोचना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘नेपाल टेलिभिजनको आजको एउटा अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो । ‘

ओलीबारे राधिकाः हरेकजसो रात उहाँ १२ बजे अगाडि कोठामा आउनुहुन्न

राधिका शाक्यले माधव नेपालबारे लेखेकी छिन्,’माधव नेपाल, जसको सधैँभरि पार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गथ्र्यो । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो ।’



प्रतिक्रिया दिनुहोस्