इलामं, फागुन १७ । विदेश गएका नागरिकको तथ्ख्ने संयन्त्र नहुँदा मानव बेचबिखनमा ‘मलजल’ पुगिरहेको छ। आफ्नो क्षेत्रबाट कुन देशमा कति मानिस गएका छन्, उनीहरू के–के काम गर्दैछन् भन्ने तथ्यांक तीनै तहका सरकारसँग नहुँदा मानव बेचबिखन नियन्त्रणमा समेत चुनौती देखिएको हो।
विदेशमा रहेका नेपालीमध्ये सम्भवतः सबैभन्दा ठूलो संख्या रहेको भारतमा समेत कति नेपाली छन् भन्ने यकिन छैन। खुला सीमाका कारण भारत जान सजिलो भएकाले बेचबिखनको चुनौती पनि उसैगरी बढेको छ। त्यति मात्र होइन, विभिन्न नाका भएर भारत जाने नागरिक भारतकै बाटो भएर अवैध रूपमा अन्य मुलुकसम्म पुगिरहेका छन्। तर आफू बाहिरिएको विवरण आधिकारिक निकायमा नै नरहने भएपछि अवैध ढंगले विदेश जान जति सजिलो भएको छ, विदेश पुगेर कुनै जटिल समस्यामा परिहाले उद्धार गरेर ल्याउन उत्तिकै कठिन।
जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा राहदानी लिनेको विवरणसम्म रहन्छ। तर तीमध्ये कति व्यक्ति विदेश गएका छन्, कुन देशमा के काम गर्दैछन् भन्ने यकिन तथ्यांक भेटिँदैन। भौगोलिक सहजता र खुला सीमाकै कारण भारत जाने नेपालीको संख्या अधिक भएको अनुमान छ। राहदानी नचाहिने र सहज आउजाउ भएपछि बढीजसो मानव बेचबिखन पनि भारतमै हुनेगरेको सरोकारवाला संघ–संस्थाले अनुमान गरेका छन्।
मानवअधिकार मञ्च नेपालका योजना अधिकृत योगराज सापकोटा विभिन्न देशमा श्रमिक पठाउने बहानामा मानव बेचबिखनको गतिलो माध्यम बनाइने गरेको बताउँछन्। अवैध रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने क्रम रोकिए मात्रै मानव बेचखिबन नियन्त्रण गर्न सम्भव हुने उनको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।